विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभामा उपप्रमुख शिल्पा निराला कार्की ले बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँ कम हो।
चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि भने बजेटको आकार केही घटाइएको छ।
बजेटको सबैभन्दा ठूलो हिस्सा पूर्वाधार विकास क्षेत्रमा केन्द्रित गरिएको छ। यस शीर्षकअन्तर्गत १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसमा वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख रुपैयाँ र नगरस्तरीय योजनाका लागि ६० करोड रुपैयाँ खर्च गर्ने योजना छ।
महानगरले प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चका लागि ७६ करोड २८ लाख रुपैयाँ छुट्याएको छ। सामाजिक विकास क्षेत्रतर्फ २६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसमा शिक्षाका लागि १० करोड ९ लाख रुपैयाँ र स्वास्थ्य क्षेत्रका लागि ७ करोड ३ लाख रुपैयाँ समावेश छन्।
त्यस्तै, आर्थिक विकासतर्फ ३ करोड २६ लाख रुपैयाँ, सुशासन कार्यक्रमका लागि २ करोड ९३ लाख रुपैयाँ तथा वन, वातावरण र विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
राजस्व व्यवस्थापनतर्फ महानगरले आगामी वर्ष १ अर्ब २७ करोड २० लाख रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य राखेको छ। तर, यस लक्ष्यको यथार्थतामाथि प्रश्न उठाइएको छ। चालु आर्थिक वर्षमा पनि यही हाराहारीको लक्ष्य निर्धारण गरिएको भए पनि जेठ मसान्तसम्म ४४ करोड ८५ लाख रुपैयाँ मात्रै संकलन भएको तथ्यांकले लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखाएको छ।
बजेटका स्रोतहरूमा संघीय सरकारबाट १ अर्ब ७ करोड २८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १४ करोड २६ लाख रुपैयाँ अनुदान आउने अनुमान गरिएको छ। साथै, राजस्व बाँडफाँडबाट ९२ करोड ५६ लाख रुपैयाँ र बैंक मौज्दातबाट १४ करोड रुपैयाँ खर्च व्यवस्थापन गरिने महानगरले जनाएको छ।
बजेटले पूर्वाधार र सेवा विस्तारलाई प्राथमिकता दिएको देखिए पनि आन्तरिक आम्दानी लक्ष्य व्यवहारिक रूपमा कार्यान्वयन हुन सक्ने वा नसक्ने विषय आगामी वर्षको प्रमुख परीक्षण बन्ने देखिएको छ।




