सारांश
डा. गोविन्द केसीको २४ औँ सत्याग्रहको तेस्रो दिन स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।
अनशनरत डा। केसीको ब्लड सुगर ५० एमजिरडिएलमा झरेको छ, मांसपेशी बाउँडिने र बोल्न गाह्रो हुने जस्ता समस्या थपिएका छन्।
सरकारले डा। केसीका मागहरू सम्बोधन गर्न संवादको पहल थालेको छ।
काठमाडौँ । डा। गोविन्द केसीको २४ औँ सत्याग्रहको तेस्रो दिन उनको स्वास्थ्य अवस्था बिस्तारै कमजोर बन्दै गएको छ। अनशनरत डा। केसीको ब्लड सुगर घट्दै गएर शनिवार बिहान ५० एमजिरडिएलमा झरेको छ । रक्तचापमा समेत तीव्र उतारचढाव देखिएको छ।
मांसपेशी बाउँडिने र बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या थपिएका छन्। अनशन बस्नुअघि मात्रै खुट्टाको शल्यक्रिया गरिएकाले उनलाई हिँडडुल गर्न र बाथरुम जानसमेत निकै कठिन भइरहेको छ। उनको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डा। जगेन्द्र दुवालको नेतृत्वमा गठित मेडिकल टिम खटिएको छ।
यसैबिच, डा। केसीका मागका विषयमा सरकारले संवादको पहल थालेको छ। शिक्षामन्त्री पोखरेलेले शुक्रवार साँझ डा। अमृत जैसी र राति ११ बजे डा। केसीसँग टेलिफोनमा कुराकानी गरेका थिए ।
संवादका क्रममा डा। केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने र गेटामा तत्काल ३०० शय्याको पूर्णकालीन अस्पताल सञ्चालन हुनुपर्ने लगायतका मुख्य मागहरू राखेका छन् ।
उनले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृहकार्यसहित वार्तामा आउन सरकारलाई आग्रह गरे।




