सीमा प्रहरीको नाकै अगाडिबाट २३ कार्टुन चिनियाँ स्याउ बरामद

विराटनगर। विराटनगर–रानी सीमा नाकामा सशस्त्र प्रहरी बल नेपालले अवैध रूपमा भारततर्फ लैजान लागिएको २३ कार्टुन चिनियाँ स्याउ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर रानीबाट खटिएको टोलीले बुधबार रानी सीमा क्षेत्रको चाइना बजारस्थित एक होटलको पछाडिको झ्यालबाट स्याउ लोड गरिरहेको अवस्थामा २३ कार्टुन चिनियाँ स्याउ नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल गुल्मका डीएसपी तिलकबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उक्त स्याउ बरामद गरेको हो। डीएसपी खड्काका अनुसार बरामद गरिएको स्याउ आवश्यक कानुनी प्रक्रिया पूरा गरी भोलि विराटनगर भन्सार कार्यालयमा बुझाइनेछ।

स्थानीय व्यापारीका अनुसार विराटनगरबाट थोकमा खरिद गरिएको चिनियाँ स्याउ दैनिक रूपमा १०–२० जना मजदुर प्रयोग गरी एक–दुई कार्टुनका दरले भारतको जोगबनी पुर्‍याउने गरिएको छ। यसपटक भने एकैपटक ठूलो परिमाणमा स्याउ ओसारपसार गर्ने प्रयास भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीले निगरानी बढाएको थियो।

रानी सीमा क्षेत्रमा बेला–बेलामा यस्ता अवैध ओसारपसारका गतिविधि हुने गरेको स्थानीयको गुनासो छ। बरामद गरिएको स्याउको मूल्यांकन तथा थप अनुसन्धान सम्बन्धित निकायबाट भइरहेको प्रहरीले जनाएको छ।