विराटनगर । मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते बिहान करिब ९ बजे सुनवर्षी नगरपालिका निवासी एक बालिकालाई सिटी चालक रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद अरमानले ललाइफकाई रंगेली–७ स्थित युमी क्याफेमा लगेर विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ निवासी २१ वर्षीय सुमन कुमार साहले पनि बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ।
प्रहरीका अनुसार साउन ४ गते राति करिब ९ बजे पीडितलाई पुनः रंगेली–७ स्थित संसारी मन्दिर नजिक रहेको एक क्याफेमा लगिएको थियो। त्यहाँ रंगेली–७ निवासी २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह तथा रंगेली–६ निवासी १८ वर्षीय रितिक यादवले सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।
पीडित पक्षको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते साँझ करिब ४ः१० बजे घटनामा संलग्न पाँचै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रंगेली–३ का मोहम्मद अरमान, सुनवर्षी–९ का सुमन कुमार साह, रंगेली–७ का करण मण्डल र प्रियान्सु साह तथा रंगेली–६ का रितिक यादव रहेका छन्।
मोरङ प्रहरीले पक्राउ परेका पाँचै जनामाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।




