सुनसरी घटनापछि सुरक्षा निकायका प्रमुखहरू हेरफेर, सीडीओसहित प्रहरी र सशस्त्रका अधिकारी फिर्ता बोलाइए

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपपछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख अधिकारीहरूको व्यापक हेरफेर गरेको छ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरीको जिम्मेवारी दिइएको छ।

यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उहाँको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।

सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई पनि फिर्ता बोलाई प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई सुनसरी खटाइएको छ। यस्तै, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदननाथलाई पठाउने निर्णय भएको छ।

आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा एक युवकको गोली लागेर मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित न्यूरो अस्पताल तथा विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। थप अप्रिय घटना हुन नदिन नेपाली सेना परिचालन गरिएको छ।

घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरेको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।