विराटनगर महानगरपालिकाको आम्दानी लक्ष्यभन्दा निकै कम, जेठ मसान्तसम्म ६२ प्रतिशत मात्र राजस्व संकलन

सत्यनारायण शर्मा
विराटनगर — विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म कुल अनुमानित आयको ६२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँ आयको लक्ष्य राखेको थियो।

प्रस्तुत विवरणअनुसार आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म ४४ करोड ८५ लाख ९२ हजार १७ रुपैयाँ मात्र प्राप्त भएको छ। यो लक्ष्यको तुलनामा निकै न्यून उपलब्धि हो।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणतर्फ समानीकरण अनुदानका लागि ३४ करोड ३४ लाख रुपैयाँ अनुमान गरिएकोमा ३१ करोड ४० लाख ३९ हजार ३ सय रुपैयाँ प्राप्त भएको छ। सशर्त चालु अनुदानतर्फ ७८ करोड ४१ लाख ८० हजार रुपैयाँ अनुमान गरिएकामा ७८ करोड १९ लाख ५० हजार रुपैयाँ प्राप्त भएको छ भने सशर्त पुँजीगत अनुदानतर्फ अनुमानित ८ करोड ३५ लाख रुपैयाँ पूर्ण रूपमा प्राप्त भएको महानगरले जनाएको छ।

समपूरक पुँजीगत अनुदानका लागि १ करोड २० लाख रुपैयाँ अनुमान गरिएकोमा ५८ लाख रुपैयाँ मात्र प्राप्त भएको छ। प्रदेश सरकारतर्फको समानीकरण अनुदान ३ करोड ६२ लाख ३० हजार रुपैयाँ पूर्ण रूपमा प्राप्त भएको छ भने सशर्त चालु अनुदानतर्फ १ करोड ४ लाख ७ हजार रुपैयाँ अनुमान गरिएकामा ६५ लाख १२ हजार २ सय २० रुपैयाँ प्राप्त भएको छ। सशर्त पुँजीगत अनुदानतर्फ ५ करोड ८८ लाख रुपैयाँ अनुमान गरिएकामा २ करोड १४ लाख ५० हजार रुपैयाँ मात्र प्राप्त भएको छ।

राजस्व बाँडफाँडतर्फ सवारी करबाट २ करोड ५९ लाख रुपैयाँ, मनोरञ्जन करबाट १२ लाख ६१ हजार रुपैयाँ, विज्ञापन करबाट २८ लाख ३९ हजार रुपैयाँ तथा घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट २१ करोड १९ लाख ४० हजार रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको छ।

यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँडबाट ११ करोड ९८ लाख ६९ हजार रुपैयाँ तथा अन्तःशुल्कबाट ५ करोड ६३ लाख ३६ हजार रुपैयाँ प्राप्त भएको छ।

महानगरको बैंक मौज्दात १४ करोड ९९ लाख २ हजार ५१ रुपैयाँ रहेको छ। समग्रमा जेठ मसान्तसम्म महानगरले २ अर्ब २६ करोड ६१ लाख २८ हजार ३ सय १३ रुपैयाँ आम्दानी गरेको छ, जुन वार्षिक अनुमानित आयको करिब ६२ प्रतिशत हुन आउँछ।

महानगरपालिकाले आर्थिक वर्षको अन्तिम महिनामा राजस्व संकलन बढाएर लक्ष्य नजिक पुग्ने अपेक्षा गरेको जनाएको छ।