विराटनगर, साउन १९ — मोरङ प्रहरीले नशालु पदार्थ सेवन गराई एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १७ गते घटेको घटनामा विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीया सोनुमा लिम्बु, केराबारी गाउँपालिका–८ बस्ने ५० वर्षीय कमलबहादुर आले मगर तथा सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ३८ वर्षीय डम्बर खतिवडा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार सोनुमा लिम्बु र कमलबहादुर आले मगरको मिलेमतोमा पीडित महिलालाई नशालु पदार्थ सेवन गराई मोरङको लेटाङ नगरपालिका–१ स्थित हाम्रो रिसोर्टमा लगिएको थियो। त्यहाँ ज्यान मार्ने धम्की दिई डम्बर खतिवडाले जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनालाई पक्राउ गरेको हो। मोरङ जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिई उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र थप तथ्य खुलेपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।




