आत्महत्याका घटना तीन वर्षमा बढ्दो, पछिल्लो वर्ष १ हजार ५८० घटना

निखिल शर्मा

विराटनगर । नेपालमा आत्महत्याका घटना पछिल्ला तीन आर्थिक वर्षमा उतार–चढाव भए पनि २०८२/८३ मा पुनः वृद्धि भएको कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार तथ्यांकले देखाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा विभिन्न कारणबाट १ हजार ५५६ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०८१/८२ मा यो संख्या घटेर १ हजार ४४७ मा पुगेको थियो।

तर आर्थिक वर्ष २०८२/८३ मा आत्महत्याका घटना पुनः बढेर १ हजार ५८० पुगेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३३ ले बढी हो। त्यस्तै, २०८०/८१ को तुलनामा २०८२/८३ मा आत्महत्याका घटना २४ ले बढेको देखिन्छ।

तथ्यांकले आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्य, पारिवारिक सहयोग, सामाजिक सचेतना तथा संकटमा रहेका व्यक्तिलाई समयमै सहयोग र परामर्श उपलब्ध गराउनुपर्ने आवश्यकता देखाएको छ।

विशेषगरी जोखिममा रहेका व्यक्तिको व्यवहारमा देखिने परिवर्तनलाई परिवार, समुदाय र सम्बन्धित निकायले समयमै पहिचान गरी सहयोग गर्न सके यस्ता घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विज्ञहरूको भनाइ छ।

सम्बन्धित निकायले आत्महत्या रोकथामलाई स्वास्थ्य तथा सामाजिक सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लिएर जनचेतना, परामर्श सेवा र आवश्यक सहयोग प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ।