रिजालको ग्यास उद्योगलाई २ लाख ९५ हजार जरिवाना, पसललाई १५ हजार

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले एलपी ग्यासको वितरण व्यवस्थापन तथा बजार अनुगमनका क्रममा एक ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ र ग्यास पसललाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार २०८३ साउन २७ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त बजार अनुगमन टोलीले विभिन्न ग्यास उद्योग तथा पसलको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा विराटनगर महानगरपालिका–३ स्थित कञ्चनेश्वर ग्यास पसलले जाँचबुझ तथा निरीक्षण कार्यमा सहयोग नगरेको पाइएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

त्यसैगरी बुढीगंगा गाउँपालिका–५ स्थित रिजालको भान्सा ग्यास उद्योग प्रालिको अनुगमन गर्दा उद्योग सञ्चालनमा नरहेको पाइएको थियो। अत्यावश्यक सेवाअन्तर्गत रहेको उक्त उद्योग ग्यास बुलेटको अभावका कारण सञ्चालनमा नरहेको उद्योगले जनाएको थियो।

उद्योग परिसरमा रहेका १९ वटा रिफिल गरिएका सिलिण्डरको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा २४० ग्राम ग्यास कम रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै, म्याद गुज्रिएका दुई वटा सिलिण्डरमा ग्यास रिफिल गरी सिलसमेत लगाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको थियो।

उपभोक्ताको सुरक्षामा प्रत्यक्ष असर पार्ने गरी म्याद गुज्रिएका सिलिण्डर प्रयोग गरेको तथा तौलमा समेत कमी देखिएपछि उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरिएको हो। म्याद गुज्रिएका दुईवटा सिलिण्डरको सिल तोडी ग्यास हटाएर नष्ट गर्नसमेत लगाइएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले एलपी ग्यासको सहज, सुरक्षित र व्यवस्थित वितरणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।