कोशी प्रदेशमा विपद्बाट तीन वर्षमा २५८ जनाको मृत्यु

निखिल शर्मा

विराटनगर । कोशी प्रदेशमा पछिल्ला तीन आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा परी २५८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म विपद्का घटनामा परी २५८ जनाले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै विभिन्न विपद्का घटनामा परी ९० जनाको मृत्यु भएको छ । सो अवधिमा २ हजार ६४८ वटा विपद्का घटना भएका थिए भने २६६ जना घाइते भएका थिए । विपद् व्यवस्थापन तथा उद्धारका क्रममा प्रहरीले ११ हजार ४९६ पटक परिचालन भएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ३ हजार ४४१ वटा विपद्का घटना हुँदा ९१ जनाको मृत्यु र २३२ जना घाइते भएका थिए । सो वर्ष प्रहरी १६ हजार ६१२ पटक परिचालन भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ८६९ वटा विपद्का घटना हुँदा ७७ जनाको मृत्यु र २७७ जना घाइते भएका थिए । उक्त वर्ष प्रहरी १७ हजार ६८० पटक परिचालन भएको थियो ।

प्राकृतिक विपद्बाट हुने मृत्युको प्रमुख कारण बाढी तथा पहिरो देखिएको छ । प्रहरी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ मा बाढी तथा पहिरोमा ३१ जनाको मृत्यु भएको थियो भने २०८१/०८२ मा ४५ र २०८२/०८३ मा ५३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, आगलागीबाट क्रमशः २०, १६ र १२ जनाको मृत्यु भएको छ । जंगली जनावरको आक्रमणबाट १३, १० र ११ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । चट्याङबाट क्रमशः १३, १९ र ९ जनाको मृत्यु भएको छ भने हावाहुरीबाट २०८०/०८१ मा मानवीय क्षति नभए पनि २०८१/०८२ मा १ र २०८२/०८३ मा ५ जनाको मृत्यु भएको छ ।

तथ्याङ्कले कोशी प्रदेशमा विपद्का कारण हुने मानवीय क्षतिको प्रमुख कारण बाढी र पहिरो रहेको देखाएको छ । विशेषगरी वर्षायाममा बाढी तथा पहिरोका कारण ठूलो संख्यामा मानवीय क्षति हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।