अभिशेख शर्मा
विराटनगर । कोशी प्रदेशमा प्रहरीले पछिल्लो तीन आर्थिक वर्षमा ६६ टनभन्दा बढी गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म प्रहरीले ६६ हजार ८१८ किलोभन्दा बढी गाँजा बरामद गरेको हो ।
प्रहरी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ मा १० हजार ४२० किलो ४९ ग्राम ४६१ मिलिग्राम गाँजा बरामद भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा २६ हजार ७०५ किलो ५३८ ग्राम ९७ मिलिग्राम र आर्थिक वर्ष २०८२/०८३ मा २७ हजार ६९३ किलो ५३८ ग्राम ९७ मिलिग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
तीन वर्षको तथ्याङ्क हेर्दा कोशी प्रदेशमा गाँजा बरामदको मात्रा निरन्तर बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा गाँजा बरामदको मात्रा उल्लेख्य रूपमा बढेको थियो भने २०८२/०८३ मा पनि ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले बरामद मात्र नभई गाँजाका बोट नष्ट गर्ने अभियानलाई समेत तीव्रता दिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा मात्रै प्रहरीले १ हजार ३९४ रोपनी क्षेत्रफलमा लगाइएको अनुमानित २ लाख ६४ हजार ८३० वटा गाँजाका बोट प्रहरी परिचालन गरी नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गाँजासँगै पछिल्ला तीन आर्थिक वर्षमा चरेश, अफिम, ब्राउन सुगर तथा विभिन्न प्रकारका मनोद्विपक औषधि र सुईसमेत ठूलो परिमाणमा बरामद भएका छन् ।
तीन वर्षमा चरेश ३ सय ३५ ग्रामभन्दा बढी र ब्राउन सुगर १९ किलोभन्दा बढी बरामद भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल १४ लाखभन्दा बढी र मनोद्विपक सुई १२ हजारभन्दा बढी बरामद गरिएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशमा लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि सीमा नाका, राजमार्ग तथा विभिन्न संवेदनशील क्षेत्रमा निगरानी बढाउनुका साथै गाँजा खेती हुने क्षेत्रमा समेत खोजी तथा नष्ट अभियान सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ ।




