लागूऔषधसहित ८ जना पक्राउ

विराटनगर, भदौ १४ गते । सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र गाँजासहित ८ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ १३ गते सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट प्र.१–०२–०४६ प २२६५ नम्बरको स्कुटरमा सवार दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१० का जयराम चौधरी र स्कुटरको पछाडि सवार अनुराग चौधरी रहेका छन्। उनीहरूको साथबाट ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र सुन्दरहरैँचा–९ का ३४ वर्षीय विनोद लिम्बूलाई ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

दुहबी नगरपालिका–८ बाट २६ वर्षीय सन्दिप कार्कीलाई १ ग्राम ४६० मिलिग्राम तथा २७ वर्षीय अनिस कार्कीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैगरी, अस्थायी प्रहरी चौकी देउराली सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा धरान उपमहानगरपालिका–५ का २१ वर्षीय राजेश राईको घरकोठामा तलासी लिएको थियो। तलासीका क्रममा ३४० मिलिग्राम ब्राउन सुगर, १०० ग्राम गाँजा र नगद १० हजार ६४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ बाट बिर्तामोड–२ का ३४ वर्षीय सरोज भट्टराईलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।