रथयात्राको भीडमा प्रहरीको ‘एक्सन’, ११३ जना नियन्त्रणमा

विराटनगर । विराटनगरमा शनिबार सम्पन्न ५९औँ राधाकृष्ण रथयात्रामा प्रहरीले भीडको मौका छोपेर हुन सक्ने चोरी, पाकेटमारी र अन्य अवाञ्छित गतिविधिमाथि कडा निगरानी गरेको छ । सुरक्षा निगरानीका क्रममा प्रहरीले १ सय १३ जनालाई नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार नियन्त्रणमा लिइएकामध्ये १ सय १२ जना पुरुष र एक जना महिला छन् । रथयात्रामा सहभागी हजारौँ दर्शनार्थीको भीडमा शंकास्पद गतिविधि गरिरहेका तथा चोरी र पाकेटमारीमा संलग्न भएको आशंका गरिएका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिमध्ये केही चोरी तथा पाकेटमारीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । रथयात्राको भीडमा दर्शनार्थीका नगद, गरगहना तथा अन्य सामान हराएको र चोरी भएको गुनासो प्रहरीमा आएको थियो ।

नियन्त्रणमा लिइएकालाई वडा प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चोरी तथा पाकेटमारीमा संलग्न रहेको पुष्टि भए कानुनी कारबाही अघि बढाइनेछ भने शंकास्पद गतिविधि मात्रै गरेको पाइएकालाई अनुसन्धानपछि आफन्तको जिम्मा लगाएर छाडिने प्रहरीले जनाएको छ ।

ड्रोनबाट समेत निगरानी

रथयात्रालाई लक्षित गरी प्रहरीले यसपटक सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै भीडको अवस्था र सम्भावित जोखिम पहिचान गर्न ड्रोनबाट समेत निगरानी गरिएको थियो ।

भीडभाडका कारण हुन सक्ने चोरी, पाकेटमारी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको एसपी कटवालले बताए ।

हराएका दुई बालबालिकाको उद्धार

यसैबीच, रथयात्राको भीडमा अभिभावकबाट छुटेका दुई बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । करिब ५ देखि ७ वर्ष उमेर समूहका एक बालक र एक बालिकालाई प्रहरीले फेला पारेर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

प्रहरीले रथयात्राको भीडमा बालबालिका हराएका अभिभावकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रहरीको कडा सुरक्षा निगरानी, ठूलो संख्यामा सुरक्षाकर्मीको परिचालन र ड्रोनबाट गरिएको अनुगमनका कारण रथयात्रा तुलनात्मक रूपमा शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न भएको प्रहरीको भनाइ छ ।