विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका साझा समस्या, अन्तरप्रदेश सहकार्य र संघ–प्रदेश सम्बन्धका विषयमा छलफल हुने भएको छ।

सम्मेलनको मुख्य उद्देश्य प्रदेश सरकारका साझा समस्या पहिचान गरी संघीय संरचनालाई थप प्रभावकारी र सुदृढ बनाउनु रहेको कोशी प्रदेश सरकारले जनाएको छ।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार सम्मेलनमा संघीयता अभ्यासका क्रममा देखिएका नीतिगत तथा व्यावहारिक चुनौती, प्रदेशहरूले अपनाएका असल अभ्यास र अनुभव आदानप्रदान गरिनेछ। साथै अन्तरप्रदेश व्यापार, उत्पादन आदानप्रदान, प्राकृतिक स्रोतको संयुक्त उपयोग र पर्यटन प्रवद्र्धनमा सहकार्यका विषयमा समेत छलफल हुनेछ।

सम्मेलनका लागि करिब १२ देखि १३ वटा प्रमुख नीतिगत एजेन्डा तयार पारिएको कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले बताए। उनका अनुसार प्राकृतिक स्रोतको संयुक्त उपयोग, अन्तरप्रदेश हवाई सञ्जाल, पर्यटन तथा उत्पादन आदानप्रदानलगायत विषयमा सातै प्रदेशका योजना आयोगका उपाध्यक्षहरूको असोज १४ गते हुने बैठकपछि एजेन्डालाई अन्तिम रूप दिइनेछ।

सम्मेलनमा असल अभ्यास, संघ तथा स्थानीय तहसँगको नीतिगत र कानुनी समन्वय तथा प्रदेशका साझा समस्या समाधानका उपायबारे छलफल हुनेछ। सम्मेलनलाई आगामी दिनमा पनि प्रदेशहरूबीच नियमित छलफल र साझा समस्या समाधान गर्ने स्थायी संयन्त्रका रूपमा संस्थागत गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।

सम्मेलनको तयारीका लागि प्रमुख सचिवको नेतृत्वमा व्यवस्थापकीय समिति र योजना आयोगका उपाध्यक्षको नेतृत्वमा नीतिगत सिफारिस समिति गठन गरिएको छ।

प्रत्येक प्रदेशबाट मुख्यमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा उच्च तहका सरकारी अधिकारीहरूको सहभागिता रहनेछ। सम्मेलनमा सहभागी पाहुनालाई कोशीका पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रमसमेत राखिएको छ।