

विराटनगर । कलेजको पढाइ, सिकाइ र अविस्मरणीय पललाई सम्झँदै साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) विराटनगरका १२५ विद्यार्थी औपचारिक बिदाइसँगै जीवनको नयाँ यात्रामा अघि बढेका छन्।
कलेजले शुक्रबार बीएचएम २०८० ब्याच तथा बीबीए २०७९ ब्याचका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको बिदाइ कार्यक्रममा बीएचएम, बीबीए र एमबीए तहका विद्यार्थीलाई बिदाइ गरिएको हो।
क्याम्पस प्रमुख विनय विष्णु केसीका अनुसार बिदाइ हुनेमा बीएचएमका ५०, बीबीएका ६० र एमबीएका १५ गरी कुल १२५ विद्यार्थी छन्। अध्ययन पूरा गरेका विद्यार्थीलाई आगामी व्यावसायिक तथा व्यक्तिगत जीवनमा सफलताको शुभकामना दिँदै उनीहरूले कलेजमा सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले कलेजमा बिताएका दिन, प्राप्त गरेको ज्ञान, सिकाइका अनुभव तथा स्मरणीय क्षणहरू साझा गरेका थिए। अध्ययनको एउटा चरण पूरा गरेर नयाँ अवसर र चुनौतीतर्फ अघि बढ्न लागेका विद्यार्थीका लागि कार्यक्रम भावनात्मक भेटघाटसँगै आगामी यात्राको प्रेरणासमेत बनेको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले थप रौनक थपेका थिए।
कार्यक्रममा क्याम्पस प्रमुख केसी, क्याम्पस म्यानेजर महेश्वरप्रसाद सिंह, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, राजेश गुरुङसहित कलेजका प्राध्यापक तथा प्रशासनिक कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन रवि गणेशले गरेका थिए।
विद्यार्थीलाई बिदाइ गर्दै क्याम्पस प्रमुख केसीले अध्ययनका क्रममा हासिल गरेको ज्ञान र सीपलाई जीवन तथा कार्यक्षेत्रमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार बिदाइ कार्यक्रमले विद्यार्थीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै अध्ययनपछिको नयाँ यात्राका लागि हौसला प्रदान गरेको छ।
सन् २००१ मा स्थापना भएको सास्थम पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था हो। कलेजले पर्यटन, होटल व्यवस्थापन तथा व्यवसाय व्यवस्थापनसम्बन्धी शिक्षा प्रदान गर्दै आएको छ। सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपमा जोड दिँदै पर्यटन, आतिथ्य सत्कार तथा व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु कलेजको लक्ष्य रहेको छ।
कलेजबाट बिदाइ भएका विद्यार्थीका लागि अब प्राप्त शैक्षिक ज्ञानलाई वास्तविक कार्यक्षेत्रमा प्रयोग गर्ने अवसर र चुनौती दुवै सुरु भएका छन्।




