७२ स्थानमा यात्रु सहायता कक्ष, ४५३ क्युआरटी र १७९ स्थानमा ट्राफिकसहित संयुक्त चेकजाँच
विराटनगर । दसैँ, तिहारलगायतका चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, ठगी, तस्करी, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले सुरक्षा परिचालन तीव्र बनाएको छ। प्रदेशका १४ वटै जिल्लामा चाडपर्वलाई सुरक्षित, मर्यादित र भयरहित बनाउन ८ हजार १३३ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्व सुरक्षा कार्ययोजना–२०८३ लागू गर्दै राजमार्गदेखि बजार, सीमानाका, धार्मिक स्थल र वित्तीय संस्थासम्म सुरक्षा निगरानी बढाएको जनाएको छ। चाडपर्वका बेला यात्रुको चाप बढ्ने, आर्थिक कारोबार तीव्र हुने र सार्वजनिक स्थलमा भीडभाड हुने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो।
राजमार्गदेखि बजारसम्म प्रहरीको निगरानी
चाडपर्वमा घर फर्किने यात्रुलाई यात्राका क्रममा आइपर्ने समस्या समाधान गर्न प्रदेशका १४ वटै जिल्लाका बसपार्क, बस स्ट्यान्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रुलाई आवश्यक सहयोग, गुनासो सुनुवाइ तथा ठगीबाट जोगाउन यी कक्ष परिचालन गरिएका हुन्।
आकस्मिक घटना, झैझगडा, दुर्घटना तथा आपराधिक गतिविधिमा तत्काल प्रतिक्रिया जनाउन ४५३ वटा क्विक रेस्पोन्स टिम (क्युआरटी) परिचालन गरिएको छ। त्यस्तै, सुरक्षा संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा तत्काल परिचालन गर्न १५ वटा स्ट्राइकिङ टोलीको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने गतिविधि नियन्त्रण गर्न १७९ स्थानमा ट्राफिकसहित संयुक्त चेकजाँचको व्यवस्था मिलाइएको छ। राजमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न २२ स्थानमा स्कर्टिङको व्यवस्था गरिएको छ।
सीमानाकामा कडाइ, पटका भित्रिन नदिन तालिमप्राप्त कुकुर
चाडपर्वको मौका छोपेर हुन सक्ने चोरी–तस्करी तथा सीमावर्ती अपराध नियन्त्रण गर्न ८३ स्थानमा सीमानाका निगरानी तथा चेकजाँचको व्यवस्था गरिएको छ। विशेषगरी पटका तथा अन्य विस्फोटकजन्य पदार्थको अवैध प्रवेश रोक्न मुख्य नाका र शंकास्पद क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ।
चोरी, पाकेटमारी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ९८ वटा मोबाइल गस्ती टोली परिचालन गरिएको छ। त्यसैगरी बजार, मेला, जात्रा तथा भीडभाडयुक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न २१५ स्थानमा पैदल गस्ती र ५०३ स्थानमा पिकेटमार्फत प्रहरी उपस्थिति बढाइएको छ।
मन्दिरदेखि बैंकसम्म सुरक्षा व्यवस्था
दसैँमा शक्तिपीठ तथा मठमन्दिरमा दर्शनार्थीको भीड बढ्ने र तिहारमा आर्थिक कारोबार तीव्र हुने भएकाले प्रहरीले धार्मिक स्थल तथा आर्थिक कारोबारका क्षेत्रलाई समेत सुरक्षा योजनामा प्राथमिकता दिएको छ।
धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ५० स्थानमा र महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि ३४ स्थानमा आवश्यक प्रबन्ध मिलाइएको छ। बैंक तथा वित्तीय संस्था, सुनचाँदी कारोबार हुने स्थान र अन्य आर्थिक कारोबारका केन्द्रको सुरक्षाका लागि ५६ स्थानमा निगरानीको व्यवस्था गरिएको छ।
सीसीटीभी र ड्रोनबाट निगरानी
बढी भीडभाड हुने चोक, बजार तथा सार्वजनिक स्थलमा सीसीटीभीमार्फत निगरानी बढाइएको छ। आवश्यकताअनुसार ड्रोन क्यामेरासमेत प्रयोग गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने प्रदेश प्रहरीको योजना छ।
प्रहरीले चाडपर्वका बेला नागरिकको जिउधनको सुरक्षा, शान्ति सुव्यवस्था, सुरक्षित आवागमन र आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ।
सुरक्षा परिचालनसँगै नागरिकको सतर्कता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यात्राका क्रममा अपरिचित व्यक्तिमाथि विश्वास गरेर सामान बोक्ने, आर्थिक कारोबारमा असावधानी अपनाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा शंकास्पद गतिविधिलाई बेवास्ता गर्ने जस्ता व्यवहारले जोखिम बढाउन सक्छन्। प्रहरीले तयार पारेको सुरक्षा योजना प्रभावकारी बनाउन नागरिकको सहयोग, सूचना आदानप्रदान र नियमको पालना पनि आवश्यक देखिन्छ।




