विराटनगर । विराटनगरस्थित काली मन्दिरदेखि रंगेलीस्थित प्राचीन काली मन्दिरसम्म आयोजना हुँदै आएको निशान (ध्वजा) पैदल यात्रा यस वर्ष कात्तिक ३ गते महानवमीका दिन हुने भएको छ। दशौँ संस्करणका रूपमा आयोजना हुन लागेको उक्त धार्मिक तथा सांस्कृतिक यात्रामा करिब १८ हजार श्रद्धालु सहभागी हुने आयोजकले अनुमान गरेको छ।
विगत नौ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस यात्रामा श्रद्धालुहरूले हातमा निशान ध्वजा लिएर विराटनगरबाट पैदल यात्रा सुरु गर्नेछन्। करिब २३ किलोमिटर दूरी पार गर्दै रंगेलीस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर निशान ध्वजा अर्पण गर्ने कार्यक्रम रहेको दशौँ निशान (ध्वजा) पैदल यात्रा, २०८३ को मूल व्यवस्थापन समितिले जनाएको छ।
यात्रालाई व्यवस्थित बनाउन विभिन्न स्थानमा विश्रामस्थल निर्धारण गरिएको छ। विराटनगरबाट यात्रा सुरु भएपछि जीवन विकासको कार्यालयअगाडि चिया–पानी कार्यक्रम सञ्चालन गरिनेछ। त्यसपछि सेलो मिल, जुडो पुलखेड, रामचोक पूर्व, यादवैरियास्थित वसन्त राजवंशीको काँटा, आनन्द इँटाभट्टा, दादस्वैरिया, कर्सिया नहरस्थित किरतन अग्रवालको मिल, बेतौनाचोकस्थित सन्तोष रौनियारको गोला तथा संसारीमाईलगायतका स्थानमा विश्राम गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ |
यस वर्षको यात्रामा करिब आठ हजार निशान ध्वजा मातृशक्ति तथा अन्य १० हजार श्रद्धालुसहित कुल १८ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ। यात्रामा सहभागी हुने ध्वजायात्रीबाट प्रतिव्यक्ति ३०० रुपैयाँ सहभागिता शुल्क लिइनेछ भने अन्य आवश्यक खर्च दाताहरूबाट संकलन गरिनेछ।
यात्रा सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यात्रामा सहभागी श्रद्धालुहरूका लागि रंगेलीस्थित काली मन्दिर परिसरमा रहेको धर्मशालामा निःशुल्क प्रसाद तथा भोजनको व्यवस्था गरिने आयोजकले जनाएको छ।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामूहिक सहभागितालाई जोड्ने उद्देश्यले आयोजना हुँदै आएको निशान ध्वजा पैदल यात्राले विराटनगर र रंगेली क्षेत्रबीचको धार्मिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
यात्रालाई सफल बनाउन मूल व्यवस्थापन समितिले सञ्चारमाध्यम, श्रद्धालु, दाता तथा सर्वसाधारणलाई सहयोग र सहभागिताका लागि आह्वान गरेको छ। समितिले पत्रकारहरूलाई यात्राको समाचार प्रकाशन तथा प्रसारण गरी धार्मिक तथा सांस्कृतिक कार्यक्रमको प्रचारप्रसारमा सहयोग गर्नसमेत अनुरोध गरेको छ।





