विराटनगर, असार ३ – नेपाल औषधी व्यवसायी संघको ५२औँ स्थापना दिवसको अवसरमा मोरङ शाखाले असार ४ गतेदेखि १० गतेसम्म विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ।

संघको स्थापना सन् १९७३ (वि.सं. २०३०) मा भएको हो र यो औषधी व्यवसायको प्रवर्धन, अनुशासन र सामाजिक उत्तरदायित्वमा क्रियाशील रहँदै आएको छ।

कार्यक्रमको पहिलो दिन कोशी अस्पतालको बाल विभागमा फलफूल वितरण गरिनेछ। दोस्रो दिन हिमालय दर्शन कलेजमा लागुऔषध र मनोदीपक औषधी सम्बन्धी जनचेतनामूलक कार्यक्रम हुनेछ। तेस्रो दिन जिल्ला ट्राफिक प्रहरी कार्यालयमा लागुपदार्थ परीक्षण किट हस्तान्तरण गरिनेछ। चौथो दिन विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री वितरण गरिनेछ। पाँचौँ दिन वरिष्ठ औषधी व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूलाई सम्मान गरिनेछ।

संघले स्थापना दिवसलाई समाजसेवामूलक कार्यहरूमार्फत अर्थपूर्ण बनाउँदै आएको छ।