
– सत्यनारायण शर्मा,
विराटनगर, साउन ८ गते
कोशी प्रदेशमा लागूऔषध गाँजाको प्रयोग, ओसारपसार र कारोबार नियन्त्रण गर्न सक्रिय कोशी प्रदेश प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ मा ठूलो परिणाममा गाँजा बरामद गर्नुका साथै लाखौं गाँजाका बिरुवा नष्ट गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार, बिशेष सूचनाको आधारमा र कडाईका साथ गरिएको चेकजाँचबाट बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट राखिएका सवारी, तरकारी बोक्ने गाडी, मोटरसाइकलजस्ता सवारी साधन र कोशी नदीको पानीमा बगाएर वा जमिन मुनि गाडेर लुकाइएको गाँजाको कारोबार नियन्त्रणमा लिइएको हो।
प्रहरी तथ्यांकअनुसार, चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सुनसरीले सबैभन्दा बढी १२,३७५ किलो ९२९ ग्राम, मोरङले ६,६५० किलो ४०० ग्राम, धनकुटाले ४,१९४ किलो ३०० ग्राम, उदयपुरले १,८१० किलो ४८४ ग्राम र झापाले १,६५१ किलो २८२ ग्राम गाँजा बरामद गरेका छन्। यसैबीच, अन्य जिल्ला प्रहरी कार्यालयमार्फत संचालित अभियानबाट कुल २६,७०५ किलो ५३८ ग्राम ९७ मिलिग्राम गाँजा बरामद भएको छ।
गाँजाको ओसारपसार तथा कारोबारमा संलग्न रहेको आरोपमा १६५ जना पुरुष र २४ जना महिला पक्राउ परेका छन्। त्यस्तै, ३१ वटा चारपाङ्ग्रे तथा ७५ वटा दुईपाङ्ग्रे सवारी साधन समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै, खेतबारीमा उम्रिएका वा लगाइएका गाँजाका बिरुवा र बोटहरु नष्ट गर्ने अभियान अन्तर्गत धनकुटामा १२ लाख ५९ हजार, भोजपुरमा २८ लाख ४६ हजार, उदयपुरमा १६ लाख ८ हजार ५ सय, सोलुमा २९ हजार ७ सय र खोटाङमा २६ हजार २ सय बिरुवा र बोटहरू नष्ट गरिएको छ। यसरी, जम्मा २ हजार ४६४ रोपनी क्षेत्रफल वरिपरि फैलिएको १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बिरुवा र बोट नष्ट गरिएको प्रहरीको दाबी छ।