
निखिल शर्मा
विराटनगर, साउन १७
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१–०८२ मा अन्तशुल्क राजश्व अन्तर्गत ३ अर्ब ८ करोड रुपैयाँ संकलन गरेको छ।
गत वर्ष सो कार्यालयले अन्तशुल्क शीर्षकमा २ अर्ब २८ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो। यो वर्ष सो तुलनामा १३.२ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी नवराज भट्टराईले जानकारी दिए।
तीन प्रमुख मदिरा उद्योगहरूबाट मात्रै यो वर्ष ठूलो परिमाणमा अन्तशुल्क राजश्व संकलन भएको छ। नेपाल लिकर्स मदिरा उद्योग टंकीसिनवारीले १ अर्ब ७० करोड रुपैयाँ अन्तशुल्क बुझाएको छ।
त्यस्तै, गोल्डेन ग्लोभ मदिरा उद्योग टंकीसिनवारीले २२ करोड ६२ लाख रुपैयाँ र चण्डिका डिस्टिलरी मदिरा उद्योग रंगेलीले १८ करोड ५३ लाख रुपैयाँ सरकारलाई अन्तशुल्क राजश्व रूपमा बुझाएका छन्।