
सत्यनारायण शर्मा

विराटनगर । विराटनगरस्थित रानी अन्तर्राष्ट्रिय भन्सार कार्यालय यात्रु शाखा अगाडिको संवेदनशील क्षेत्रमा दर्जनभन्दा बढी भारतीय व्यापारीले खुलेआम ठेला पसल राखेर व्यापार गर्दै आएका छन्। नेपालभित्रै पसल सञ्चालन गर्न पाइने नियम नभएको अवस्थामा भारतीय व्यापारीलाई प्रहरीकै संरक्षणमा कारोबार गर्न दिइएको स्थानीयवासीको गुनासो छ।
भन्सार क्षेत्रको एक नम्बर ढाटदेखि दुई नम्बर ढाटसम्मको भीत्रि भागमा नेपाली नम्बर प्लेटका सवारी साधन राख्नै नपाइने नियम रहे पनि त्यही क्षेत्रमा भारतीय व्यापारीलाई पसल थाप्न दिइएको छ। भन्सार कार्यालयका सूचना अधिकारी बिमल साहका अनुसार अन्तर्राष्ट्रिय भन्सार क्षेत्र वरपर कुनै किसिमको भीडभाड वा पसल सञ्चालन निषेध गरिएको हो।
तर ड्युटीमा खटिएका सशस्त्र प्रहरीका इन्चार्जदेखि सामान्य जवानसम्म भारतीय व्यापारीसँग दैनिक २ सय रुपैयाँ असुली गर्दै आएको स्थानीय स्रोतको दाबी छ। फलफुल, उखु र जुस पसल चलाउने व्यापारीलाई अनुमति दिनुको सट्टा प्रहरी आफैं पटक–पटक नि:शुल्क फलफुल तथा जुस खाएर ‘सुरक्षा’ मिलाइदिने गरेको बताइन्छ।
त्यसैगरी, संवेदनशील भन्सार क्षेत्रमा पिपलको रुख छेउमै मोटरसाइकल र स्कुटी पार्किङ गरी तस्करीका सामान भित्र्याउने क्रम पनि रोकिएको छैन। भारतबाट ल्याइने सामानहरू स्कुटीको डिक्की वा मोटरसाइकलमा लुकाएर नेपाल भित्र्याइने र उच्च गतिमा कुदाएर भन्सार क्षेत्र पार गराइने गरेको देखिन्छ। प्रहरीलाई यो गतिविधिबारे थाहा हुँदाहुँदै पनि रोकथाम गर्ने प्रयास नगरी उल्टै आर्थिक लाभ उठाउँदै आएको स्थानीयको आरोप छ।
यसरी प्रहरीकै आँखाअगाडि संवेदनशील भन्सार क्षेत्र कब्जा भई तस्करी र अवैध व्यापार बढ्दै जानु राज्यको शान र सार्वभौमिकतामाथि प्रश्न उठ्ने विषय बनेको छ।