
काठमाडौँ, २५ भदौ २०८२
देशभर जारी जेन–जी आन्दोलनमा हालसम्म ३० जनाको ज्यान गएको र एक हजारभन्दा बढी घाइते भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाले मंगलबारसम्मको तथ्याङ्क सार्वजनिक गर्दै २९ वटा अस्पतालबाट संकलित विवरणअनुसार मृत्यु हुनेको संख्या ३० पुगेको र एक हजार ६१ जना उपचारत भएको बताए।
मृतकमध्ये निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेजमा २, त्रिवि शिक्षण अस्पतालमा १, फ्रन्टलाइन अस्पतालमा ३, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ र भेरी अस्पतालमा ५ जनाको निधन भएको छ।
हालसम्म ७१९ जना उपचारपछि घर फर्किएका छन् भने २७४ जना अझै विभिन्न अस्पतालमा भर्ना भई उपचाररत छन्। ५६ जनालाई भने थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको मन्त्रालयले जनाएको छ।
यसबीच, सर्वाधिक घाइतेको उपचार निजामती कर्मचारी अस्पतालमा भएको छ। सो अस्पतालमा ४३६ जना घाइते भर्ना भएका थिए भने ट्रमा सेन्टरमा १६१ र एभरेष्ट अस्पतालमा १०९ जनाले उपचार पाएका थिए।
हाल अझै निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, वीर अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेजमा २४ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना उपचाररत छन्।