एजेन्सी
सारांश
लाखौँ वेबसाइटमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विश्वभरका आईटीकर्मीहरू त्यसलाई समाधान गर्न दबाबमा परेका छन् ।
माइक्रोसफ्टका सिइओ सत्य नाडेलाले यसलाई लामो समयदेखि नदेखेको सुरक्षा संकट भनेका छन् भने बेलायतका प्रणाली प्रशासक एडम मड ग्राहकको चिन्ता र जिज्ञासाले असामान्य वृद्धि भएको बताएका छन् ।
पीएचपीको सुरक्षा कमजोरीसम्बन्धी हल्ला र गलत सूचनाले समस्या थप जटिल बनाएको छ, यद्यपि व्यापक साइबर आक्रमणको प्रमाण भने फेला परेको छैन ।
काठमाडौं । लाखौँ वेबसाइटमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि विश्वभरका सूचना प्रविधि ९आईटी० तथा साइबर सुरक्षा विशेषज्ञहरू त्यसलाई समाधान गर्न दबाबमा परेका छन् ।
बीबीसीका अनुसार पछिल्लो ४८ घण्टामा वेबसाइट सुरक्षित बनाउने, सफ्टवेयर अद्यावधिक गर्ने र सम्भावित साइबर आक्रमण रोक्ने काममा आईटीकर्मीहरू व्यस्त भएका छन् । यस क्रममा गलत सूचना र अनावश्यक त्रासले समस्या थप जटिल बनाएको विशेषज्ञहरूले बताएका छन् ।
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले पीएचपीमा देखिएको सुरक्षा संकटजस्तो अवस्था आफूले लामो समयदेखि नदेखेको बताएका छन् । उनले विश्वभरका आईटी तथा सुरक्षा टोलीले दिनरात काम गर्नुपरेको उल्लेख गरेका छन् ।
बेलायतका प्रणाली प्रशासक एडम मडका अनुसार वेबसाइट सञ्चालकहरूबाट प्राप्त चिन्ता र जिज्ञासाका सन्देश असामान्य रूपमा बढेका छन् । केही ग्राहकले सावधानीका लागि वेबसाइट बन्द गर्न आग्रह गरिरहेका छन् भने अर्कोतर्फ विभिन्न प्रणालीमा सुरक्षा अद्यावधिक लागू गर्नुपर्ने चुनौती रहेको उनले बताएका छन् ।
‘कहिलेकाहीँ पीएचपीको समस्या समाधान गर्नुभन्दा वेबसाइट बन्द गर्न बढी समय लाग्छ,’ मडले भनेका छन् । ग्राहकका प्रणाली सुरक्षित बनाउन उनी बिहानैदेखि राति साढे १० बजेसम्म काम गरिरहेको र पर्याप्त निद्रा लिन नपाएको उनले बताएका छन् ।
पीएचपी लाखौँ वेबसाइट सञ्चालनमा प्रयोग हुने लोकप्रिय प्रोग्रामिङ भाषा हो । यसमा दुईवटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विभिन्न देशका साइबर सुरक्षा निकायले तत्काल सुरक्षा अद्यावधिक गर्न वा वेबसाइट र सर्भर बन्द गर्न आग्रह गरेका थिए ।
मौरिससका आईटी प्रशासक लोगानाडेन भेल्भिन्ड्रोनका अनुसार पीएचपीका केही संस्करणको प्राविधिक सहयोग अवधि समाप्त भइसकेकाले ती प्रणालीमा सुरक्षा सुधार गर्न थप कठिनाइ भइरहेको छ । कतिपय अवस्थामा वेब एप पुनर्निर्माण गर्न र कोड परिवर्तन गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् ।
डिजिटल विज्ञापन कम्पनीका प्राविधिक निर्देशक जोन जोन्सले सुरक्षा कमजोरीसम्बन्धी चेतावनी सार्वजनिक भएपछि आफूहरू तत्काल काममा जुटेको बताएका छन् । पीएचपीको सुरक्षा सुधारसम्बन्धी नयाँ संस्करण बुधबार दिउँसो ३ बजे सार्वजनिक भएपछि त्यसलाई लागू गर्न प्रतिस्पर्धा नै चलेको उनको भनाइ छ ।
तर, सफ्टवेयर अद्यावधिक गर्दा अन्य प्राविधिक समस्या उत्पन्न हुन सक्ने जोखिमले पनि चिन्ता बढाएको उनले बताएका छन् ।
यसैबीच, पीएचपीको सुरक्षा कमजोरीसम्बन्धी विवरण निर्धारित समयभन्दा अगाडि नै बाहिरिएको र साइबर अपराधीले त्यसको प्रयोग गरी आक्रमण सुरु गरिसकेको हल्ला फैलिएपछि थप अन्योल उत्पन्न भएको थियो ।
बेलायती साइबर सुरक्षा विशेषज्ञ ड्यानियल कार्डका अनुसार ह्याकरहरूले काम गर्ने आक्रमण विधि पत्ता लगाइसकेको दाबी गर्दै धेरै गलत सूचना फैलाइएको थियो । सुरक्षा कमजोरी गम्भीर भए पनि साइबर अपराधीले प्रभावकारी रूपमा त्यसको दुरुपयोग गरिरहेको भन्ने हल्लाको पर्याप्त प्रमाण नभएको उनले बताएका छन् ।
सुरक्षा कम्पनी क्लाउडफ्लेयर र अमेजन वेब सर्भिसेज ९एडब्लुएस० ले प्रतिघण्टा लाखौँ ह्याकिङ प्रयास भइरहेको चेतावनी दिएको भए पनि व्यापक स्तरमा तथ्याङ्क चोरी वा साइबर आक्रमण भएको प्रमाण फेला नपरेको बीबीसीले जनाएको छ ।
कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोगबाट ह्याकिङका नयाँ विधि विकास गर्ने प्रयास भइरहेको भए पनि हालसम्म ती प्रयास व्यापक स्तरमा प्रभावकारी भएको नदेखिएको विशेषज्ञहरूको भनाइ छ । यद्यपि, आगामी दिनमा परिस्थिति परिवर्तन हुन सक्ने उनीहरूले चेतावनी दिएका छन् ।
यस्तै, दशकौँदेखि मानव अनुसन्धानकर्ताले पत्ता लगाउन नसकेका पीएचपीका सुरक्षा कमजोरी पहिचान गर्न पनि एआईको प्रयोग भएको बताइएको छ । एआई उपकरणको क्षमता बढ्दै जाँदा यस्ता गम्भीर सुरक्षा कमजोरी थप सार्वजनिक हुन सक्ने विशेषज्ञहरूको अनुमान छ ।
वर्डप्रेस सुरक्षा उपकरण वर्डफेन्सका संस्थापक मार्क माउन्डरले एआईबाट गम्भीर सुरक्षा कमजोरी पत्ता लाग्ने क्रम बढ्ने भए पनि त्यसबारे सूचना दिने तरिका सुधार गर्नुपर्ने बताएका छन् ।
उनले बारम्बार आउने चेतावनी र अपुष्ट सूचनाका कारण प्रयोगकर्ता तथा सुरक्षा टोलीमा चेतावनीप्रतिको संवेदनशीलता घट्न सक्ने जोखिम औँल्याएका छन् । यस्तो अवस्थालाई ‘अलर्ट फटिग’ भनिन्छ । भविष्यमा वास्तविक र अत्यन्त गम्भीर सुरक्षा जोखिम देखा पर्दा पनि मानिसहरूले चेतावनीलाई बेवास्ता गर्न सक्ने भएकाले सूचना प्रवाहमा सन्तुलन आवश्यक रहेको विशेषज्ञहरूको भनाइ छ ।






