धनपालथानमा ३ सय २३ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले बिहीबार बिहानका राति ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले बिहानका राति १ बजेतिर ३ सय २३ किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार खोला किनारमा बेवारिसे अवस्थामा गाँजा फेला परेको थियो ।

१० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेपछि सशस्त्र प्रहरीसमेतको सहयोगमा नेपाल प्रहरीले बरामद गरेको हो । गाँजा बरामदका लागि सहयोग गर्न सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट टोली खटिएको थियो ।

गाँजा लगेर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । खोला किनारमा तयारी गाँजा कसले राखेको हो भन्ने यकिन छैन । यद्यपि, भारत कटाउनका लागि भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गाँजा भण्डारण गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा इन्स्पेक्टर बोगटी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । पछिल्लो समय भारतीय सीमानजिकै मोरङको दक्षिणी क्षेत्रबाट गाँजा बरामद हुने क्रम बढेको छ ।