
सत्यनारायण शर्मा
विराटनगर, साउन २८ गते – धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतिकका रूपमा चिनिने ऐतिहासिक श्री राधाकृष्ण रथयात्रा महोत्सव २०८२ भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विराटनगरस्थित पानीट्यांकीको श्री राधाकृष्ण मन्दिर कार्य समितिले विशेष तयारी आरम्भ गरेको कुरा अध्यक्ष कैलाश रेग्मीले वताए ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट, अर्थात भाद्र १ गते, आइतवार अपराह्न ३ः३० बजेबाट सुरु हुने यस रथयात्रामा विराटनगर महानगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण राधाकृष्ण मन्दिरबाट युगल जोडी भगवान् श्रीराधाकृष्णको नवनिर्मित रथमा विशेष झाँकीसहित नगर परिक्रमा गराइनेछ । झण्डै ६ किलोमिटर दूरी तय गर्दै रथ यात्राले नगरका ४४ स्थानमा विश्राम गर्दै ६ घण्टाभित्र पुनः मन्दिर परिसरमा फर्कने कार्यक्रम तय गरिएको छ ।
ऐतिहासिक पृष्ठभूमि र धार्मिक महत्व
महाभारतकालीन विराट नगरीको ऐतिहासिक पृष्ठभूमिमा स्थापित यस मन्दिरको निर्माण वि.सं.१९८८ मा धर्मनिष्ठ व्यक्तित्व पं. श्री इन्द्रलालभक्त द्वारा गरिएको हो । त्यसयता यहाँ दैनिक वैदिक पूजा–अर्चना हुनुका साथै कृष्ण जन्माष्टमी, रथयात्रा, राधाष्टमी, महाशिवरात्रि लगायतका पर्वहरू भव्य रुपमा मनाइँदै आएका छन्
श्रीराधाकृष्ण रथयात्रा महोत्सव २०२० सालदेखि निरन्तर रुपमा स्वर्गीय यु.ज. भूपालमान सिंह काकी र स्व. सत्यनारायण धनावतको पहलमा सुरु भएको हो ।पूर्वाञ्चलको एकमात्र र नेपालकै दोस्रो ठूलो रथयात्राको रूपमा यो परम्परा स्थापित भइसकेको छ । रथयात्रा धार्मिक सहिष्णुता, साम्प्रदायिक सद्भाव र आध्यात्मिक चेतनाको अभिवृद्धिमा एक उत्कृष्ट उदाहरण बनेको छ ।
रथयात्राको मार्ग र तयारी
रथ पानीट्यांकी, तीनपैनी, जलजला मोड, ट्राफिक चौक, महेन्द्रचौक, धनान रोड, दुर्गा चौक, र पुनः मन्दिर परिसर हुँदै फर्किनेछ । यात्राका क्रममा रथको विश्राम स्थलहरू विराटेश्वर महादेव मन्दिर, सत्यनारायण मन्दिर, जलजला मोड, पञ्चमुखी हनुमान मन्दिर, शनिमन्दिर चौक, दुर्गा चौक, लगायतका ठाउँहरूमा रहनेछन् ।
यात्रालाई व्यवस्थित बनाउन रथयात्रा समारोह समितिले विभिन्न २० उपसमितिहरू गठन गरेको छ — जसमध्ये रथ मार्ग निर्देशन, रथ श्रृङ्गार, प्राथमिक उपचार, स्वयंसेवक व्यवस्थापन, प्रचार–प्रसार, विद्युत र खानेपानी व्यवस्थापन, फोहोर व्यवस्थापन, प्राविधिक सहायता, अध्ययन तथा अनुसन्धान उपसमिति प्रमुख छन् ।
रथको निर्माण अत्याधुनिक काठ र फलाम प्रयोग गरी गरिएको छ, जसमा ८७ फिट लामो बलियो डोरी प्रयोग गरिएको छ । डोरी तान्न पुरुष महिला दुवैले भाग लिने परम्परा छ । रथमा श्रीराधाकृष्णको प्रतिमा, ७ सदस्यीय झाँकी टोली, प्राविधिक र व्यवस्थापक रहनेछन् ।
सुरक्षा, सुविधा र प्रशासनिक समन्वय
कोशी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विराटनगर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, रेडक्रस, उद्योग व्यवसायी संघ, व्यापारी प्रतिष्ठान लगायत निकायहरूसँग समन्वय गरिएको छ ।
रथयात्रा अवधिभर सुरक्षाकर्मीहरू, दमकल, एम्बुलेन्स, प्राथमिक उपचार टोली, खानेपानी वितरण टोलीहरू सक्रिय रहनेछन् । नगर क्षेत्रमा माइकिङ, सरसफाई, सडक बत्ती तथा सौचालयको विशेष व्यवस्था मिलाइएको छ ।
पुरस्कार वितरण तथा अक्षय कोष
श्रीकृष्ण जन्माष्टमीको अवसरमा “पोखरमल राठी धर्म–संस्कृति पुरस्कार” अन्तर्गत यस वर्ष “परमार्थ सिंधिया जातीय सेवा समिति, विराटनगर” लाई नगद रु १ लाख १ हजारसहित सम्मान गरिनेछ ।
साथै संस्कृत अध्ययन गर्ने बटुकहरूलाई हरीदेवी चापागाईं छात्रवृत्ति, नारायण प्रसाद–महामाया भण्डारी, तारानाथ–पवित्रा देवी घिमिरे, नथुनीप्रसाद जायसवाल, जगतबन्धु–अन्जु कार्की छात्रवृत्तिको ब्याजबाट छात्रवृत्ति पुरस्कार प्रदान गरिनेछ ।
पत्रकार र सञ्चार माध्यमहरूप्रति अपिल
विराटनगरको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचान समेटिएको यो ऐतिहासिक महोत्सवको प्रचारप्रसार गर्न सम्पूर्ण सञ्चारकर्मी, पत्रकार बन्धुहरूलाई रथयात्रा समारोह समितिले हार्दिक अनुरोध गरेको छ ।
समापन
विराटनगरवासीका लागि गौरवको विषय बनेको यो रथयात्रा महोत्सवमा जात, धर्म, लिङ्ग, समुदाय विभेद नगरी सम्पूर्ण भक्तजन, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागिता जनाई धार्मिक चेतना, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई सशक्त बनाउन श्रीराधाकृष्ण रथयात्रा समारोह समितिक अध्यक्ष कैलाश रेग्मीले हार्दिक अनुरोध गरेका थिए ।