स्वास्थ्य शिविरको नाममा जनता ठगिँदै

सत्यनरायण शर्मा

विराटनगरमा सञ्चालनमा रहेका विभिन्न निजी अस्पताल र नर्सिङ होमहरूले बेलाबेला गाउँगाउँमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। देख्नमा यस्ता शिविरहरू मानव सेवाको नाममा गरिएका जस्ता लागे पनि वस्तुतः ती अस्पतालहरूको मुख्य उद्देश्य आर्थिक लाभ लिनु हो।

यस्ता शिविरहरूमा अस्पतालले सर्वसाधारणलाई ‘सेवा’को नाममा औषधि वितरण गर्छन्, तर ती औषधिहरू अधिकांशतः उद्योगद्वारा प्रचारप्रसारको लागि वितरण गरिएको र बजारमा विक्री गर्न नमिल्ने औषधिहरू हुने गर्छन्। बिरामीहरूलाई सामान्य परीक्षणपछि अस्पतालमा गएर थप उपचार गर्न सुझाव दिइन्छ, जसबाट अन्ततः अस्पतालले आर्थिक फाइदा लिन्छ।

यस्ता शिविरमा नाम चलेका विज्ञ चिकित्सकहरू बिरलै सहभागी हुन्छन्। अधिकांश अवस्थामा त्यहाँ हालै स्नातक भएका प्रशिक्षार्थी (इंटर्न) वा सिकारु चिकित्सकहरूलाई पठाइन्छ। यसरी उनीहरूले अभ्यास गर्ने मौका पाउँछन् भने अस्पतालहरूले “सेवा”को नाममा आफ्नो प्रचारसमेत गर्ने अवसर लिन्छन्।

नेपाल सरकारको नियम अनुसार कुनै पनि निजी अस्पतालले वार्षिक आम्दानीको १० प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा मूलक कार्यमा खर्च गर्नु पर्नेछ। त्यस्तै, प्रत्येक १०० जना बिरामीको उपचार गर्दा कम्तीमा १० जनालाई निःशुल्क सेवा दिनुपर्ने प्रावधान पनि छ। तर अधिकांश अस्पतालहरूले राज्यलाई छल्न कागजी प्रतिवेदन तयार गरी औपचारिकता मात्र पूरा गर्दै आएका छन्।

गाउँगाउँमा शिविर संचालन गर्दा अस्पतालहरूले माइकिन्ग, ब्यानर, पम्प्लेट र सञ्चारमाध्यममार्फत खुलेआम प्रचार गरिरहेका छन्, जुन स्वास्थ्य सेवा सम्बन्धी ऐनविपरीत हो। सरकारी निर्देशिका अनुसार कुनै पनि चिकित्सक वा स्वास्थ्य संस्थाको व्यावसायिक विज्ञापन गर्न पाइँदैन।

यसरी सेवा र सामाजिक उत्तरदायित्वको नाममा भइरहेको यस्तो दोहोरो चरित्रमाथि सम्बन्धित निकायको ध्यान जान जरुरी छ। सर्वसाधारण जनताले पनि यस्ता शिविरहरूको वास्तविक उद्देश्य बुझी सजग हुन आवश्यक छ।