
सत्यनारायण शर्मा
विराटनगर, साउन १२ गते।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत २२ हजारभन्दा बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रमबाट २ लाख ३८ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।
‘समुदाय–प्रहरी साझेदारी : कति राम्रो, हाम्रो जिम्मेवारी – नागरिक र प्रहरी मिली समाज बनाऔँ हितकारी’ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो। प्रदेश प्रहरी कार्यालयले समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन गस्ती, पेट्रोलिङ, सूचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा आपराधिक घटनामा तिव्र प्रतिक्रिया जनाउँदै नागरिकमैत्री सेवा प्रवाह गरिरहेको जनाएको छ।
प्रहरी र आमनागरिकबीचको सम्बन्ध सुदृढ गर्दै, जनचेतनाका माध्यमबाट सम्भावित दुर्घटना तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रमहरू कोशी प्रदेशका दुर्गम क्षेत्रसम्म विस्तार गरिएको हो।
स्थानिय तह, विभिन्न संघसंस्था, विद्यालयहरूसँगको सहकार्यमा महिला हिंसा न्यूनीकरण, लागुऔषधविरुद्ध जनचेतना, ट्राफिक नियम तथा सडक सुरक्षा, साइबर अपराध, आत्महत्या न्यूनीकरण, मानव बेचबिखन, घरेलु हिंसा, जातीय छुवाछुत, बहुविवाह, बालविवाह, बालमाथिको हिंसा, प्राकृतिक प्रकोपलगायत विविध विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ।
प्रहरी तथ्यांकअनुसार २०८१/०८२ मा जिल्लागत रूपमा सबैभन्दा बढी कार्यक्रम खोटाङमा ४ हजार १५५ वटा सञ्चालन भए। त्यसपछिका जिल्ला र कार्यक्रम संख्या यस्ता छन्ः
-
इलाम — ३,५७९
-
सुनसरी — २,१३५
-
सोलुखुम्बु — २,१११
-
भोजपुर — १,९१७
-
झापा — १,५९८
-
धनकुटा — १,२६०
-
ओखलढुंगा — १,१०७
-
उदयपुर — ८२४
-
संखुवासभा — ७७२
-
ताप्लेजुङ — ७३६
-
मोरङ — ७०५
-
तेह्रथुम — ६०६
-
पाँचथर — ६०१
प्रहरी कार्यालयले “समुदाय–प्रहरी मिली गरौं हातेमालो, जनता र प्रहरी मिले हुन्छ देशको भलो” भन्ने सन्देशसहित ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकमा सुरक्षा चेतना र कानूनी ज्ञान अभिवृद्धि गर्दै अपराधमुक्त समाज निर्माणमा सक्रियता बढाएको जनाएको छ।