२ लाख १३ हजार ६९५ सवारीसाधन कारबाही, १६ करोड २९ लाख ७१ हजारभन्दा बढी राजस्व संकलन

सत्यनारायण शर्मा
विराटनगर, साउन १३ गते ।

कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको समन्वयमा १४ जिल्लाका ९६ ट्राफिक प्रहरी इकाइले निरन्तर कार्य गरिरहेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक प्रहरीले कोशी प्रदेशका विभिन्न स्थानमा २६ हजार २९३ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रमबाट ६ लाख १६ हजारभन्दा बढी सवारी चालक, विद्यार्थी तथा अन्य सडक प्रयोगकर्ताहरू लाभान्वित भएका छन्।

सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि ९३२ स्थानमा सिसी क्यामेरा तथा झापाको झिलझिले, विराटनगरको दूधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टरसहितको सिसी क्यामेरा जडान गरिएको छ।

लामो दूरीका तथा भारतीय नम्बर प्लेट भएका सवारीका लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एपसहितको चेकजाँच, २१ स्थानमा सार्वजनिक सवारी साधनको गति नियमन गर्न टाइम कार्ड इन्ट्री प्रणाली, जरिवाना प्रणाली पारदर्शी बनाउन POS (प्वाइन्ट अफ सेल) मेसिन र भर्चुअल बैंकिङ (e-banking) प्रणाली लागू गरिएको छ।

लागू पदार्थ सेवन नियन्त्रण, मापसे परीक्षण, तिब्र गति नियन्त्रणका लागि राडार गन प्रयोग तथा दैनिक २३९ स्थानमा संयुक्त वा एकलरूपमा चेकजाँच समेत भइरहेको छ।

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारीसाधनलाई कारबाही गरेको छ। यसमार्फत १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरिएको छ।

सवारी दुर्घटनाका मुख्य कारणमा चालकको लापरवाही देखिएको छ—जसमा तिब्र गति, सवारी चलाउने क्रममा मोबाइल प्रयोग, क्षमता भन्दा बढी भारवाहन, यात्रु राख्ने, हेलमेटको फीता नबाँध्ने, सिटबेल्ट नलगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, थकित अवस्थामा सवारी चलाउने, यान्त्रिक अवस्था ठीक नभएको सवारी प्रयोग गर्ने, बिना लाइसेन्स सवारी चलाउने तथा सडक प्रयोगकर्ताको लापरवाही मुख्य हुन्।

यस्तै लापरवाहीका कारण आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशमा ४१८ जनाको ज्यान गएको छ भने ७११ जना गम्भीर घाइते र ८ हजार ५३० जना सामान्य घाइते भएका छन्।

ट्राफिक प्रहरी कार्यालयले सवारी चालक, सहचालक, अभिभावक, विद्यार्थी लगायतलाई निरन्तर रूपमा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण र सचेतना कार्यक्रम दिइरहेको छ। तर ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन। सवारी चालक, सडक प्रयोगकर्ता, यातायात व्यवस्था विभाग, सडक विभागलगायत सबै सरोकारवाला निकायले आ–आफ्नो जिम्मेवारी पूरा गरेमा मात्र दुर्घटना न्यूनीकरण सम्भव हुन्छ।