दुई अर्ब ९१ करोड २९ लाख रुपैयाँ बराबरको नेपाली वस्तु एक वर्षमा भारत निर्यात


सत्यनारायण शर्मा

विराटनगर, साउन — आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट भारततर्फ दुई अर्ब ९१ करोड २९ लाख रुपैयाँ बराबरका विभिन्न वस्तु निर्यात भएको छ। तर, सोही अवधिमा भारतबाट नेपालमा आएको आयात भने निर्यातको तुलनामा झन्डै १० गुणा बढी मूल्य बराबरको रहेको विराटनगर भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।

नेपाल अहिले प्लाइवुड उत्पादनमा आत्मनिर्भर बनेको जनाइएको छ। यो अवधिमा नेपालबाट भारतमा ५ करोड ९७ लाख १९ हजार मेट्रिक टन बराबरको प्लाइवुड निर्यात गरिएको छ, जसको मूल्य एक अर्ब १९ करोड ४३ लाख ८० हजार रुपैयाँ रहेको छ।

त्यस्तै, तोरीको पिनो १ करोड २१ लाख ६५ हजार मेट्रिक टन (४९ करोड ८७ लाख ६५ हजार रुपैयाँ), बन्दाकोबी १ लाख २१ हजार मेट्रिक टन (९१ लाख ८९ हजार रुपैयाँ), र झारू २६ लाख ८ हजार मेट्रिक टन (१३ करोड ४ लाख रुपैयाँ) भारत पठाइएको थियो।

नेपालबाट भारत गएका अन्य वस्तुहरूमध्ये कथा ७ लाख ४८ हजार मेट्रिक टन (७ करोड ४८ लाख), तेजपात १४ करोड १२ लाख ८८ हजार, चिया १ करोड ४३ लाख ८७ हजार, रुद्राक्ष १ करोड ६२ लाख ६० हजार, चिउरा ५४ लाख १२ हजार, सुकुटी ५० लाख ५६ हजार, कन्ज्युमेबल गुड्स ५ करोड ४९ लाख ९० हजार, कोदोको पिठो २ लाख १३ हजार र फाफरको पिठो ४ लाख ४७ हजार रुपैयाँ बराबरको रहेको प्लान्ट क्वारेन्टिन कार्यालय प्रमुख नन्दकिशोर सिंहले जानकारी दिए।

नेपालबाट भारतमा मुख्य रूपमा खाद्य वस्तु, कृषि उपज, औषधिजन्य वनस्पति र घरेलु प्रयोगका सामग्री पठाइन्छन्। यद्यपि, भन्सार कार्यालयका अनुसार नेपालले भारतबाट झन्डै ९० प्रतिशत दैनिक उपभोग्य सामग्री आयात गरिरहेको छ।

नेपाल र भारतबीचको व्यापार घाटा अझै पनि उच्च रहँदा, स्वदेशी उत्पादन प्रवर्द्धन र आयात प्रतिस्थापनमा सरकारको दीर्घकालीन योजना आवश्यक देखिएको छ।