
काठमाडौं, २७ भदौ ।
देशको असामान्य राजनीतिक परिस्थिति बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने निश्चित भएको छ । शुक्रबार साँझ प्रमुख राजनीतिक दल र जेन–जी अभियन्ताबीच छलफल सम्पन्न भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै अन्तरिम सरकार प्रमुखमा नियुक्त गर्ने र राति ९ बजे शपथ गराउने तयारी गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नयाँ नेतृत्वको घोषणा र शपथ आजकै क्रममा सम्पन्न हुनेछ । यसअघि कार्की, जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग विस्तृत छलफलमा सहभागी भएका थिए ।
यद्यपि संसद् विघटनको विषयमा अन्तिम टुंगो लाग्न बाँकी छ । राष्ट्रपति कार्यालयका स्रोतका अनुसार जेनजी अभियन्ताले कडा चेतावनी दिएका कारण राष्ट्रपति पौडेलले संसद् विघटनबारे अघिल्लो अडान फेरेका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपछि बढ्दो जनदबाबका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिमा दिइएको उक्त राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए ।
यससँगै अब देशले सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार पाउने भएको छ, जसले आगामी राजनीतिक सहमति र निर्वाचनको बाटो खुलाउने अपेक्षा गरिएको छ ।