१३ वर्षीया बालिका गर्भवती प्रकरणमा १८ वर्षीय युवक पक्राउ

विराटनगर । झापामा एक १३ वर्षीया बालिका गर्भवती भएपछि प्रहरीको अनुसन्धानबाट बालिकामाथि जबरजस्ती करणी भएको तथ्य बाहिर आएको छ। उक्त घटनामा संलग्न आरोपमा प्रहरीले गौरादह नगरपालिका–५, कटकपुरका १८ वर्षीय राघव धमलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार घटना २०८१ चैत २५ गतेको हो। सोही दिन धमलाले घर नजिकैको बाँसघारीमा लगेर बालिकामाथि जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनापछि बालिकाको शारीरिक परिवर्तन देखिएपछि परिवारजनले सोधपुछ गर्दा घटना खुलेको बताइन्छ। त्यसपछि पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय झिलझिलेमामा उजुरी दर्ता गराएका थिए।

प्रहरीले दिएको जानकारीअनुसार धमलाले डर र धम्की देखाएर बालिकामाथि बलात्कार गरेको स्वीकृति दिइएको प्रारम्भिक विवरणमा उल्लेख छ।

हाल उनलाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको र धमला अहिले झिलझिले प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ।