विराटनगर, असोज ३० गते ।
हालै फरार भएका दुई जना कैदीलाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पहिलो घटनामा, मिति २०८२ साल असोज २९ गते राति करिब १०ः३० बजे मोरङ जिल्ला विराटनगर महानगरपालिका–१६ दरैया क्षेत्रमा इलाका प्रहरी कार्यालय रानीघाटबाट खटिएको प्रहरी टोलीले को ३८ प ४९७२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा चालकसँग कागजपत्र नहुँदा सोधपुछ गर्दा चालकले आफ्नो परिचय सुनसरी इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीय अभिषेक जैसवाल भएको बताएको थियो ।
सोधपुछको क्रममा उनले आफू चोरी मुद्दामा सुनसरीको झुम्का कारागारमा थुनामा रहेका बेला २०८२ साल भदौ २३ र २४ गते आन्दोलनको मौका छोपेर कारागारबाट भागेको खुलासा गरेका थिए । उनले चलाएको स्कुटर पनि विराटनगर–१ नेताचोकबाट चोरी गरिएको पाइएको प्रहरीले जनाएको छ । उनलाई स्कुटरसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान जारी राखिएको छ ।
त्यसैगरी दोस्रो घटनामा, मिति २०८२ साल असोज ३० गते इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले २०७२ साल साउन २४ गते जिल्ला कारागार सिन्धुलीबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ३९ वर्षीय उपेन मण्डल रहेका छन् । उनलाई सोही मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय तोकिएको थियो । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मण्डललाई उनको आफ्नै घरबाट फेला पारी नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक समन्वयका साथ जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।