विराटनगरमा हेल्मेटभित्र लुकाइएको साढे ८ लाखसहित जहदाका नवीन साह पक्राउ

विराटनगर ।
मोरङको जहदा गाउँपालिका–७ का ४६ वर्षीय नवीन साह विराटनगरमा स्रोत नखुलेको साढे ८ लाख रुपैयाँसहित पक्राउ परेका छन्। शनिबार दिउँसो विराटनगर–१३ सैनिक टोल क्षेत्रमा चेकजाँचका क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार भारतीय नम्बर प्लेट (बीआर ३८ भी ३३२८) को मोटरसाइकलमा भारततर्फबाट नेपाल प्रवेश गरेका साहलाई शंका लागेपछि रानी प्रहरीले रोकेर तलासी गरेको थियो।

तलासीका क्रममा साहले लगाएको हेल्मेटभित्र लुकाइराखिएको नगद बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममा १ हजार दरका ८ सय, ५ सय दरका ५१, १ सय दरका १४६ र ५० दरका १०२ वटा नेपाली नोट रहेका छन्।

प्रहरीका अनुसार कुल रू. ८ लाख ४७ हजार बराबरको नगद बरामद भएको हो। साहले उक्त रकमको स्पष्ट स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको एसपी कटवालले जानकारी दिए।

यस घटनाबारे इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कवीन राईको टोलीले थप अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका जनाएको छ।