आपराधिक लाभ कसुरमा संलग्न ६ जना पक्राउ

संखुवासभा । आपराधिक लाभ कसुरमा संलग्न रहेको अभियोगमा संखुवासभा जिल्लाबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरुमा प्युठान नौबहिनी गाउँपालिका–६ का केबि पुन मगर (३० वर्ष), संखुवासभा चैनपुर नगरपालिका–७ का लब आले मगर (२५ वर्ष), युवराज पिठाकोटे मगर (३१ वर्ष), राजु भन्ने यमसिख यसमाली मगर (२५ वर्ष), प्रदिप समाल मगर (२५ वर्ष)ऐम बिरेन यसमाली मगर (२९ वर्ष) रहेका छन्।

जिल्ला सुनसरी गढी गाउँपालिका–५ घर भई हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीमाथि मिति २०८२ साल कार्तिक १२ गते राति करिब १० बजे सो समूहका व्यक्तिहरुले मोटरसाइकल रोकि चाबी खोसेर अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए। त्यसपछि उनीहरू चौधरीलाई जबरजस्ती नजिकैको पदम बहादुर यसमाली मगरको घरमा लगेर धम्की दिएका थिए।

पक्राउ परेकाहरूले चौधरीलाई सिसाको बोतल फुटाइ मारिदिने धम्की दिंदै, २० लाख रुपैयाँ नदिए जबरजस्ती खिचिएको भिडियो मिडियामा हालिदिने चेतावनी दिएका थिए। उक्त धम्कीबीच उनीहरूले पीडितबाट जबरजस्ती रु. ८१ हजार १ सय ४५ रुपैयाँ नगद लिएको प्रहरीले जनाएको छ। बाँकी पैसा भोलिपल्ट ल्याउने सर्तमा पीडितलाई राति करिब ३ बजे घर जान दिइएको थियो।

पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै विभिन्न स्थानबाट सबै प्रतिवादीलाई पक्राउ गरेको हो। उनीहरूबाट रु. ३८ हजार ४ सय ७० रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध आपराधिक लाभ कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।