विराटनगर, कार्तिक २४ गते।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) विराटनगर महानगर कमिटीसहित छवटा छिमेकी पालिका कमिटीले कात्तिक २५ गते (भोलि) विराटनगरमा बृहत मोटरसाइकल र्याली आयोजना गर्ने भएको छ।
एमालेको “देशभर पालिका–स्तरीय बृहत कार्यक्रम” अन्तर्गत विराटनगरमा आयोजना हुन लागेको सो र्यालीको तयारी पूरा भएको आज संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले र्यालीमा ११ सयभन्दा बढी मोटरसाइकल सहभागी हुने जानकारी दिनुभयो। उहाँका अनुसार विराटनगर महानगर क्षेत्रबाट करिब ७ सय र बुढीगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदा ५ पालिकाबाट करिब ४ सय मोटरसाइकल सहभागी हुनेछन्। “अहिलेसम्मको तथ्यांक यही हो, तर र्यालीमा सहभागिता अझ बढ्ने सम्भावना छ,” गिरीले भन्नुभयो।
एमाले विराटनगर महानगर कमिटीका सचिव विज्ञान चापागाईंका अनुसार र्याली जिल्ला पार्टी कार्यालय पाञ्चालीमाबाट प्रारम्भ भई रोडशेष–मेनरोड–तीनपैनी हुँदै पुष्पलाल चोक पुगेर कोणसभामा परिणत हुनेछ। कोणसभालाई एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमबारे जानकारी दिंदै एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा महानगर इन्चार्ज पर्शुराम बस्नेतले र्याली तयारी पूरा भएको जनाउँदै सहभागीहरूलाई अनुशासित ढंगले कार्यक्रम सफल बनाउन आग्रह गर्नुभयो।
त्यस्तै, एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले अहिलेको सरकारलाई “असंवैधानिक” ठहर गर्दै संसद पुनःस्थापनाको मागसहित देशभर जनप्रदर्शन भइरहेको जानकारी दिनुभयो। उहाँले संविधान संशोधनमार्फत ‘जेनजी आन्दोलनका मागहरू पूरा गर्नुपर्ने’ पनि बताउनुभयो।
एमालेले यसअघि घोषणा गरेअनुसार कात्तिक २९ गते जिल्ला–स्तरीय बृहत कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ।