विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ। मन्त्रालयको सोमबारको निर्णयअनुसार मोरङको लेटाङ नगरपालिका र सुनसरीको देवानगञ्ज गाउँपालिकासहित विभिन्न जिल्लाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो।
मन्त्रालयका अनुसार उपसचिवको दरबन्दी भएका स्थानीय तहहरू मध्ये लेटाङ नगरपालिका र बाह्रबिसे नगरपालिकामा सरुवा गरिएको छ। त्यस्तै, भीमेश्वर नगरपालिका, मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङका जिल्ला समन्वय अधिकृतहरूको समेत जिम्मेवारी हेरफेर गरिएको छ।
त्यसैगरी, अधिकृत स्तरको दरबन्दी रहेका स्थानीय तहमध्ये सुनसरीको गढी गाउँपालिका, सुनसरीकै देवानगञ्ज गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, र मेधाङ गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
साथै, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका, र रुपन्देहीको सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको पनि सरुवा भएको छ।
मन्त्रालयले यसै निर्णयअन्तर्गत जिल्ला समन्वय समिति सिरहासहित थप ६ जना अधिकृतको समेत सरुवा गरी नयाँ जिम्मेवारी तोकेको जनाएको छ।