कार्तिक महिनामा जोगबनी नाकाबाट २ हजार ८७ भारतीय पर्यटक नेपाल प्रवेश

सत्यनारायण शर्मा
विराटनगर।
कार्तिक महिनामा जोगबनी भन्सार नाकामार्फत २ हजार ८७ जना भारतीय पर्यटक नेपाल प्रवेश गरेका छन्। प्रवेश गर्ने पर्यटकमध्ये ११२ जना वृद्ध, ६१ जना वृद्धा, १ हजार ३४७ पुरुष, ३६३ महिला, १०० बालक र १०४ बालिका रहेका भन्सार कार्यालयले जनाएको छ।

जेन्जी आन्दोलनभन्दा अघि मासिक करिब ३ हजार भारतीय पर्यटक नेपाल आउने गरेका भए पनि हाल यो संख्या घटेर २ हजारको आसपास पुगेको छ। त्यस्तै, सवारीसाधन प्रवेश पनि उल्लेख्य रूपमा घटेको छ। पहिले मासिक ३ हजारभन्दा बढी भारतीय निजी कार नेपाल आउने गर्थे भने हाल यो संख्या झरेर ६ सयमा सीमित भएको छ।

भन्सार नाकाबाट असुल हुने राजश्वमध्ये पनि ठूलो गिरावट देखिएको छ। आन्दोलनअघि मासिक १२–१५ लाख रुपैयाँसम्म राजश्व संकलन हुने गरेकोमा कार्तिक महिनामा जम्मा ३ लाख रुपैयाँ मात्रै राजश्व उठेको भन्सार कार्यालयले जनाएको छ।

बराहक्षेत्र मेलाले पर्यटक संख्या केही बढायो

कार्तिक महिनामा पर्यटक संख्या केही बढ्नुमा मुख्य कारण सुनसरीको बराहक्षेत्रमा लाग्ने मेलालाई मानिएको छ। मेलामा सहभागी हुनका लागि भारतीय पर्यटकको आवागमन बढेको अधिकारीहरूले बताउँदै आएका छन्।

तर, मंसिर महिनामा पर्यटक संख्या फेरि घट्ने अनुमान गरिएको छ।
भारतीय पर्यटकहरू नेपालमा बारम्बार हुने बन्द–हडताल, आन्दोलन तथा सुरक्षाको ग्यारेन्टीमा देखिने अनिश्चितताका कारण नेपाल आउन हिच्किचाउने गरेको उनीहरूको भनाइ छ।

सवारीसाधन प्रवेश तथा राजश्व

कार्तिक महिनामा जोगबनी नाकाबाट नेपाल प्रवेश गरेका सवारीसाधनहरूको विवरण यस प्रकार छः

  • बस : १०

  • कार : ६२८

  • मोटरसाइकल :

  • जम्मा : ६६३ सवारीसाधन

यसमध्ये कारबाट ३ लाख १० हजार रुपैयाँ राजश्व संकलन भएको कोशी प्रदेश प्रहरी पर्यटक सवारी सुरक्षा जाँच केन्द्र रानीका असई सुमन बस्नेतले जानकारी दिए।
उनका अनुसार, जेन्जी आन्दोलनअघि अषाढ महिनामा मात्रै कारबाट ११ लाख रुपैयाँ राजश्व संकलन भएको थियो।

बसबाट भने कार्तिक महिनामा १५ हजार रुपैयाँ मात्र राजश्व उठेको छ।