विराटनगर, मंसिर ६ । नेपालमा अध्ययनरत तथा विभिन्न उद्योग–व्यवसायमा संलग्न भारतीय नागरिकहरूको दर्ता तथा नवीकरणका लागि मोरङ उद्योग व्यापार संघ र नेपालीस्थित भारतीय दूतावासको संयुक्त सहकार्यमा आजदेखि दुई दिने विशेष रजिस्ट्रेशन क्याम्प सञ्चालनमा आएको छ। क्याम्प संघको प्राङ्गणमै मंसिर ६ र ७ गते बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको औपचारिक उद्घाटन संघका अध्यक्ष अनुपम राठी र भारतीय दूतावासका प्रतिनिधि आर. पि. सिंहले संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गर्दै गरेका थिए।
पहिलो दिनमै विराटनगर तथा आसपास क्षेत्रका धेरैजसो भारतीय नागरिकले दर्ता तथा नवीकरण गराइसकेका छन्। यसै क्रममा क्याम्पमा भीडलाई व्यवस्थित गर्न तथा प्रक्रिया सहज बनाउन मोरङ उद्योग व्यापार संघले पूर्ण समन्वय र प्राविधिक सहयोग प्रदान गरेको छ।
यस अभियानमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले महत्वपूर्ण समन्वयात्मक भूमिका निर्वाह गरेका छन्। साथै संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सचिवालयका कर्मचारीहरूको सक्रिय सहभागिताले क्याम्पलाई प्रभावकारी र सफल बनाएको संघले जनाएको छ।
दोस्रो दिन भोलि पनि सेवा निरन्तर उपलब्ध हुने भएकाले आवश्यक भारतीय नागरिकहरूलाई समयमै उपस्थित भई नवीकरण तथा दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।

