विराटनगर, मंसिर ०९ ।
भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड गर्दै लुटिएको हातहतियार सहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकासँग प्रहरीले २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोली बरामद गरेको छ।
पक्राउ पर्नेमा झापा दमक–८ का २५ वर्षका सरोज पुरी, दमक–६ का २९ वर्षका विश्व लिङ्देन, र इलाम, चुलाचुली–४ का पवन हाङ्सुरुम्वा रहेका छन्।
विशेष सूचनाका आधारमा मंसिर ८ गते इलाका प्रहरी कार्यालय दमक तथा लागू औषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको टोलीले सरोज पुरीलाई आफ्नै वतनमा लुकी बसेको अवस्थामा १ थान पेस्तोल र १५ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो।
पूछताछका क्रममा पुरीले लुटिएका हातहतियारमध्ये १ थान पेस्तोल र ५ राउण्ड गोली विश्व लिङ्देनलाई दिएको बताएपछि प्रहरीले लिङ्देनमाथि निगरानी बढाएको थियो। लिङ्देनले उक्त हतियार इलामका पवन हाङ्सुरुम्वालाई राख्न दिएको खुलेपछि अर्को टोलीले चुलाचुली–४ मा खाल्डो खनी लुकाइ राखेको अवस्थामा १ थान पेस्तोल र ५ राउण्ड गोली बरामद गर्दै हाङ्सुरुम्वालाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकालाई आवश्यक कानूनी कारबाहीका लागि बुझाइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।