मोरङ, मंसिर १७ गते ।
मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया टोलस्थित बाँसझ्याङबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधी ट्रामोल बरामद गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको टोलीले मंसिर १६ गते दुईवटा झोलामा लुकाइ राखिएको अवस्थामा ट्रामोलका २९ हजार ६ सय ८० क्याप्सुल फेला पारेको हो। औषधी बेवारिसे अवस्थामा भेटिए पनि यसमा संलग्न व्यक्ति वा समूहको पहिचानका लागि प्रहरीले खोजतलास तीव्र पारेको जनाएको छ।
प्रहरीका अनुसार बरामद औषधी ओसारपसारमा संलग्न व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान जारी छ।
त्यस्तै, सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले चेकजाँचका क्रममा धरान–१३ क्षेत्रबाट प्रतिबन्धित औषधी २७६ चक्की सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिमाथि पनि आवश्यक कानुनी प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।