स्रोत नखुलेको अवैध रकमसहित १ जना विराटनगरबाट पक्राउ

विराटनगर, मंसिर १८ गते ।
मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा क्षेत्रमा प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत प्रादेशिक अनुसन्धान समूह (RIG) बाट खटिएको टोलीले मंसिर १७ गते भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा चालक विराटनगर–१८ का रवि शाह शंकास्पद अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार शाहले आफ्नो साथमा ६ लाख ४९ हजार ५ सय रुपैयाँ लुकाइछिपाई राखेको अवस्थामा भेटिएका हुन्। रकमको स्रोतबारे प्रष्ट नबताएपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।