विराटनगर, पुस १० ।
साहित्य, संस्कृति र समाजको समृद्धिलाई केन्द्रमा राख्दै मैथिली एसोसिएशन नेपालको आयोजनामा विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ आयोजना हुने भएको छ।
मैथिली एसोसिएशन नेपालको केन्द्रीय कार्यालय विराटनगर–१२, मोरङमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी गराइएको हो। आयोजकका अनुसार सम्मेलनमा नेपाल, भारतसहित विश्वका विभिन्न मुलुकबाट १०० भन्दा बढी विद्वान, लेखक, भाषा–संस्कृतिकर्मी र अनुसन्धानकर्ताहरूको सहभागिता रहनेछ।
सम्मेलनमा मैथिली भाषा, साहित्य, संस्कृति, पहिचान, प्रवासमा रहेका मैथिलीभाषी समुदायका चुनौती, भाषासँग जोडिएका रोजगारीका अवसर, मैथिली चलचित्रको वर्तमान र भविष्य, सांस्कृतिक क्षरणको रोकथाम, युवा पुस्तामा मातृभाषाप्रतिको चेतना लगायत ११ वटा महत्वपूर्ण विषयमा विद्वत् विमर्श गरिनेछ।
विमर्शसँगै मिथिला समाजको विविध सांस्कृतिक झाँकी, मैथिली भाषा–साहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, मिथिला चित्रकला, वैदिक परम्पराअनुसार वेदपाठ र शंखघोष, कवि सम्मेलन, लोकगीत तथा लोकनृत्यको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।
मिथिला क्षेत्र नेपाल र भारत दुवै देशमा फैलिएको तथा मैथिलीभाषी समुदाय विश्वभर फैलिएको सन्दर्भमा सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रत्यक्ष प्रसारण गर्ने तयारी पनि गरिएको छ।
आयोजक संस्थाका अनुसार प्रवासमा रहेका मैथिलीभाषी समुदायमा भाषा, साहित्य र संस्कृतिप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै कोशी प्रदेश र मिथिला क्षेत्रको पर्यटन, संस्कृति र आर्थिक विकासका सम्भावनाहरू उजागर गर्नु सम्मेलनको मुख्य उद्देश्य हो।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा आयोजना हुने सम्मेलनमा पर्यटन, वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, भाषा प्रतिष्ठान लगायतका संस्थाहरूको सहकार्य रहेको छ। साथै नेपाली र हिन्दी भाषाका विद्वानहरूसँग अन्तरसम्बन्ध विस्तार गर्दै मैथिली भाषाको विकास गर्ने संकल्प लिइएको आयोजकले जनाएको छ।
सम्मेलनको मुख्य प्रायोजक नेपालको सर्वाधिक बिक्री हुने नेपोमिट टाइल्स रहेको छ भने सह–प्रायोजकका रूपमा रमपम चाउचाउ, क्लाउड फर्स्ट कम्प्युटिङ कम्पनी (हैदराबाद), प्राइम अस्पताललगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोग रहेको छ।
आयोजकले सम्मेलन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, संरक्षक उमेश यादव, मैथिली सेवा समितिका अध्यक्ष डा. एस. एन. झा, आयोजन समितिका सदस्यहरू तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्।
कार्यक्रमको अन्त्यमा सम्मेलनको निष्कर्षसहित साझा घोषणापत्र सार्वजनिक गरिने बताइएको छ।