विराटनगर, पुस १२ गते ।
मोरङ र धनकुटाबाट प्रतिबन्धित औषधिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस ११ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा फेला परेको प्रतिबन्धित औषधि ट्रामाडोल ६ हजार पिस नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर महानगरपालिका–१२ का दिनेश राईलाई प्रतिबन्धित औषधि ७ पिस इस्पासमो र २ पिस नाइट्रोजन ट्याबलेटसहित नियन्त्रणमा लिएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका–७ बाट सोही स्थानका विजय मल्लिक र रविन मल्लिक, धनकुटा नगरपालिका–६ का प्रकाश रोक्का तथा झापाको मेचीनगर नगरपालिका–९ का अतिप लिम्बुलाई प्रतिबन्धित औषधि ट्रामोल १५३ पिस र स्पासपेन १६३ पिससहित पक्राउ गरेको छ ।
त्यसैगरी, छथरजोरपाटी गाउँपालिका–३ स्थितबाट स्थानीय अर्बिन भट्टराईलाई प्रतिबन्धित औषधि ट्रामोल ८० पिस र स्पासपेन १०४ पिससहित नियन्त्रणमा लिइएको छ ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।