विराट ट्रेड एक्स्पोमा जेनजी आन्दोलनपछि व्यापार, कर र अर्थतन्त्रबारे गहन बहस

विराटनगर । विराट ट्रेड एक्स्पोअन्तर्गत शनिबार आयोजित थिमेटिक सेसनमा पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक आर्थिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्यबारे गहन छलफल गरिएको छ ।

‘जेनजी आन्दोलनपछिको व्यापार–व्यवसायः के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह, उद्योगी–व्यवसायी तथा योजनाविद्हरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पवन शारडा, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सिएनआई कोशी प्रदेश अध्यक्ष पवन शारडा तथा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला प्यानलिस्टका रूपमा सहभागी थिए । कार्यक्रमको सहजीकरण बिजनेस एजका सम्पादक मदन लम्सालले गरेका थिए ।

छलफल जेनजी आन्दोलनले दिएको सन्देश, त्यसले उद्योग–व्यवसायमा पारेको प्रभाव र अब देशले लिनुपर्ने आर्थिक तथा नीतिगत बाटोमा केन्द्रित थियो । सहभागीहरूले आन्दोलनले उठाएका धेरै मुद्दा जायज भए पनि त्यसको स्वरूप र असरले निजी क्षेत्र असुरक्षित बनेको भन्दै चिन्ता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले जेनजी आन्दोलनले देशलाई गम्भीर सन्देश दिन खोजेको उल्लेख गर्दै पुराना पुस्ता, राजनीति र कर्मचारीतन्त्र नसच्चिएसम्म आन्दोलनको मर्म पूरा नहुने धारणा राखे । निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका माग राज्य र राजनीतिक दलहरूले नसुनेका कारण असन्तुष्टि विस्फोट भएको उनको भनाइ थियो । उनले आगजनी, तोडफोड र उद्योगी–व्यवसायीमाथि भएको आक्रमणले लगानी र रोजगारी दुवैमा नकारात्मक असर पारेको बताए ।

मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पवन शारडाले जेनजी आन्दोलन व्यापक असन्तुष्टिको परिणाम भएको बताउँदै भ्रष्टाचाररहित प्रणाली विकास नगरेसम्म आन्दोलनको सार्थकता नहुने बताए । उच्च करका कारण नेपाली उद्योग भारतसँग प्रतिस्पर्धी बन्न नसकेको उल्लेख गर्दै उनले सरल र व्यवहारिक कर प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । युवा पलायन रोक्न सूचना प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव पनि उनले दिए ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले जेनजी आन्दोलनका कारण अर्थतन्त्र र व्यवसायमा ठूलो क्षति पुगेको दाबी गरे । आन्दोलनको नेतृत्व स्पष्ट नहुँदा व्यवसायी थप त्रसित बनेको भन्दै उनले कर तिर्ने व्यवसायीलाई राज्यले सुरक्षा प्रत्याभूति दिन नसकेको गुनासो गरे । पर्यटन, कृषि र जलविद्युत क्षेत्रमा लगानी बढाएर देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने उनको धारणा थियो ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जेनजी आन्दोलन नेतृत्वविहीन भएकाले अपेक्षित परिणाम दिन नसकेको बताए । आन्दोलनको नाममा निजी क्षेत्रमा भएको आक्रमण निन्दनीय भएको उल्लेख गर्दै उनले कर प्रणाली सुधार, संघ–प्रदेश–स्थानीय तहबीच कानुनी एकरूपता र राष्ट्रिय पूँजी संरक्षण आवश्यक रहेको बताए । सुशासनसहितको विकास प्रणालीमा प्रवेश गर्नु नै जेनजी आन्दोलनको मूल माग भएको उनको भनाइ थियो ।

कार्यक्रम संयोजक अनिल शारडाका अनुसार यस्ता छलफलले नीति निर्माता, निजी क्षेत्र र युवाबीच संवाद बढाउने विश्वास गरिएको छ । विराट ट्रेड एक्स्पोले व्यापार प्रवर्द्धनसँगै नीतिगत बहसलाई समेत प्राथमिकता दिएको सहभागीहरूको निष्कर्ष थियो ।