विराटनगर । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीको भारतमा रहस्यमय अवस्थामा मृत्यु भएको खुलेको छ । जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका झापाका ४० वर्षीय आलम मियाको भारतको हिमाञ्चल प्रदेशमा उपचारका क्रममा मृत्यु भएको हो ।
झापाको बिर्तामोड नगरपालिका–३ का स्थायी बासिन्दा मिया गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए । अदालतको फैसलाअनुसार जबरजस्ती करणी कसुरमा चार वर्षदेखि कैद सजाय काटिरहेका उनी फरार भएपछि भारत पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भारत पुगेपछि मिया हिमाञ्चल प्रदेशमा रहेको एक पानी प्रशोधन कम्पनीमा काम गरिरहेका थिए । सोही क्रममा गत पुस १० गते उनी कामकै दौरान अचानक बेहोस भएर ढलेका थिए । तत्काल नजिकैको अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
मृत्युपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनका आफन्तले शव भारतको गलगलिया नाका हुँदै नेपाल ल्याएका छन् । शवलाई झापाको भद्रपुर सीमाबाट बिर्तामोड पुर्याइएको बताइएको छ ।
झापा प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले सुन्धारा कारागारबाट फरार भएका कैदीको भारतमा मृत्यु भएको पुष्टि गरेका छन् । उनले शव नेपाल ल्याइसकिएको र घटनासम्बन्धी थप विवरण संकलन तथा आवश्यक समन्वयको काम भइरहेको जानकारी दिए ।
केन्द्रीय कारागारबाट कैदी फरार भएको लामो समयपछि मृत्युको खबर बाहिर आउँदा सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठेको छ । यस घटनाले आन्दोलनका बेला कारागार सुरक्षामा देखिएको कमजोरी र फरार कैदीको निगरानीको विषयलाई पुनः चर्चामा ल्याएको छ ।