विराटनगरको रानीबाट ६ लाख रुपैयाँसहित अरविन्द पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित रानी–विराटनगर सडकखण्डबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित आइतबार बिहान एक जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान करिब ११ः३० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं. १–०४–००१ च ०१६४ नम्बरको सेतो रंगको कारमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा विराटनगर–६ निवासी ४९ वर्षीय अरविन्द अग्रवाल रहेका छन् । उनले चलाएको कारबाट स्रोत नखुलेको १ हजार दरका ४ सय थान (४ लाख), ५ सय दरका ३ सय ६० थान (१ लाख ८० हजार) र १ सय दरका २ सय थान (२० हजार) गरी जम्मा ६ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अग्रवाल, उनले प्रयोग गरेको कार तथा बरामद रकम इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।