विराटनगर । मोरङको विराटनगरमा स्रोत नखुलेको नगद रुपैयाँसहित एक व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन्।
मिति २०८२ साल पुस १३ गते बिहान करिब ११ः३० बजे मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. १५ स्थित सुनसरी ट्रेडिङ सेन्टर अगाडिको सडक खण्डमा इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय रानी (सीमा)बाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं. १–०४–००१ च ०१६४ नम्बरको सेतो रंगको कारलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उक्त कारभित्र लुकाइ–छिपाई राखिएको स्रोत नखुलेको नेपाली नगद रुपैयाँ ६ लाख फेला परेको प्रहरीले जनाएको छ। नगद रकमसहित कार चालक विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४९ का अरविन्द अग्रवाललाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका अग्रवाललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
