बालेन र रविलाई दीपकराज गिरीको चेतावनी : फेरि अर्को विकल्प खोज्नु नपरोस्

काठमाडौँ । कलाकार दीपकराज गिरीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सचेत गराएका छन्। मुलुकले फेरि अर्को विकल्प खोज्नुपर्ने अवस्था नआओस् भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्।

गिरीले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै नयाँ सहमतिसहित अघि बढेका शाह र लामिछानेलाई शुभकामना दिएका छन्। यद्यपि उनले पटक–पटक भएका विकल्पहरूको प्रयोगका बाबजुद देशले अपेक्षित गति लिन नसकेको उल्लेख गरेका छन्।

स्ट्याटसमा उनले बालेन शाह र रवि लामिछानेलाई नामै लिएर उल्लेख नगरे पनि दुवैको तस्बिर राखी ‘नयाँ सहमति’ शब्द प्रयोग गरेकाले उक्त सन्देश उनीहरूप्रति लक्षित रहेको सहजै बुझ्न सकिन्छ।

गिरी लेख्छन्, ‘२००७ सालमा कांग्रेस, २०४६ सालपछि कांग्रेस र एमाले, २०६२/६३ मा माओवादी। जनताले हरेक पटक परिवर्तनको आवाजलाई साथ दिएका हुन्। तर पटक–पटक अनेकौँ विकल्पको प्रयोग भए पनि देशले सोचे जस्तो गति लिन सकेन।’

उल्लेखनीय छ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच शनिबार राति ७ बुँदे सहमतिसहित सहकार्यको घोषणा भएको थियो।