विराटनगर। शनिबार बिहान विराटनगरको ऐतिहासिक काली मन्दिर परिसरमा असामान्य चहलपहल देखियो। कारण थियो—पूर्वराजा ज्ञानेन्द्र शाहको मन्दिर दर्शन। झापाको दमकमा बसाइँ गर्दै आएका पूर्वराजा शाह विशेष सवारीसहित बिहानै विराटनगर आइपुगेका थिए।
उनको आगमनसँगै मन्दिर वरपर समर्थक, जिज्ञासु सर्वसाधारण र दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको थियो। मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो भने ट्राफिक व्यवस्थापन पनि विशेष रूपमा मिलाइएको थियो।
काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपालसहित पदाधिकारीहरूले पूर्वराजालाई मन्दिर प्रवेशद्वारमै स्वागत गरे। त्यसपछि पूर्वराजा शाहले विधिपूर्वक पूजा अर्चना गर्दै स्वस्तिवाचन, मन्त्रोच्चारण र आरतीमा सहभागिता जनाए। करिब आधा घण्टा मन्दिरमा बिताएका उनले टीका र प्रसाद ग्रहण गरेका थिए।
पूजापछि उनले मन्दिरको संरक्षण, व्यवस्थापन र धार्मिक गतिविधिका विषयमा समितिका पदाधिकारीसँग छोटो संवाद गरेका थिए। धार्मिक आस्थासँग जोडिएको यो भ्रमण शान्त र मर्यादित रूपमा सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
पूर्वराजाको उपस्थितिलाई उनका समर्थकहरूले सकारात्मक संकेतका रूपमा लिएका छन् भने सर्वसाधारणले पनि नजिकबाट देख्ने अवसर पाएका थिए। दर्शन सम्पन्न भएपछि पूर्वराजा शाह पुनः दमकतर्फ फर्किएका थिए।