भेनेजुएलामाथि अमेरिकी कारबाहीपछि विश्व राजनीति तात्यो

वासिङ्टन डिसी। भेनेजुएलामा अमेरिकी सेनाले गरेको भनिएको आक्रमणपछि अन्तर्राष्ट्रिय राजनीति तीव्र रूपमा तातेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत राष्ट्रपति निकोलस मादुरोविरुद्ध ‘निर्णायक अपरेसन’ सम्पन्न भएको दाबी गरेसँगै विश्वभरबाट कडा प्रतिक्रिया आउन थालेको हो।

ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेख्दै अपरेसनपछि मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको उल्लेख गरे पनि यसबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन। अमेरिकी सञ्चारमाध्यमहरूले भने शनिबार बिहानै भेनेजुएलाभित्र सैन्य गतिविधि भएको पुष्टि गरेका छन्।

अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले यस घटनालाई भेनेजुएलाका लागि ‘नयाँ सुरुवात’ भन्दै तानाशाही शासनको अन्त्य भएको टिप्पणी गरेका छन्। तर भेनेजुएला सरकारले भने यसलाई अमेरिकी पक्षबाट गरिएको ‘गम्भीर सैन्य आक्रमण’ भन्दै अन्तर्राष्ट्रिय समुदायसँग आपत्ति जनाएको छ।

छिमेकी र शक्तिशाली राष्ट्रको कडा प्रतिक्रिया

घटनापछि दक्षिण अमेरिकामा सुरक्षा चिन्ता बढेको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाको कदमले क्षेत्रीय स्थिरतामा खतरा उत्पन्न गरेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन अस्वीकार्य हुने स्पष्ट पार्दै भेनेजुएलासँगको सीमामा सेना तैनाथ गर्ने घोषणा गरेका छन्।

क्युबाले यस घटनालाई ‘राज्य आतंकवाद’ को संज्ञा दिएको छ। राष्ट्रपति मिगुएल डियाज–कानेलले अमेरिकी कदमले ल्याटिन अमेरिकामा अस्थिरता बढाउने चेतावनी दिएका छन्।

रुस र इरानले पनि अमेरिकी कारबाहीको विरोध जनाएका छन्। मस्कोले यसलाई सशस्त्र आक्रमण भन्दै वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ भने इरानले राष्ट्रिय सार्वभौमसत्तामाथिको ठाडो हस्तक्षेप भएको प्रतिक्रिया दिएको छ।

युरोप संयमको पक्षमा

युरोपेली युनियनले भने घटनाक्रमलाई सतर्कतापूर्वक नियालिरहेको जनाएको छ। ईयूकी विदेश नीति प्रमुख काजा लासले मादुरोको वैधानिकतामाथि प्रश्न उठे पनि शान्तिपूर्ण राजनीतिक संक्रमण नै समाधान हुने बताएकी छन्। स्पेनले मध्यस्थताको प्रस्ताव अघि सारेको छ भने इटालीले भेनेजुएलामा रहेका आफ्ना नागरिकको सुरक्षाबारे चासो व्यक्त गरेको छ।

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको दाबीले विश्व शक्तिहरूबीच कूटनीतिक तनाव बढाएको छ। यस घटनाले क्षेत्रीय मात्र नभई विश्वव्यापी शक्ति सन्तुलनमा समेत असर पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।